काठमाडौं । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैंडाकोट नगरपालिका–१, मौलाकालीमा ‘इला होटल तथा रिसोर्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
आज आयोजित एक कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले औपचारिकरूपमा उक्त होटलको उद्घाटन गरे ।
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिको आधार पर्यटन भएकाले पर्यटन पूर्वाधार निर्माण गरिरहेको बताए । सोही क्रममा मुलुकका सातओटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण आयोजनाको शुरुआत गरेको उनको भनाइ छ । हालसम्म तीनओटा प्रदेशका केबलकार निर्माण भइ सञ्चालन भइसकेको उनले बताए ।
लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ । त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउनेछन् । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ ।
मौलाकालीको रिसोर्टमा यस्ता छन् सुविधा
मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको ‘इला होटल तथा रिसोर्टमा सुइट तथा डिलक्स रुमसहित ६५ ओटा रुम, एक हजार जना क्षमताको ब्याङ्क्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरू उपलब्ध छन् ।
केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरूको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकसमक्ष पुर्याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।