काठमाडौं । अडलट कारोबार पछिल्लो समय घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको वैशाख महीनाको कारोबार तथ्याङ्कअनुसार चैतको तुलनामा वैशाखमा अडलट कारोबार रकम २४ दशमलव १५ प्रतिशत कम भएको हो ।
नेप्सेका अनुसार चैतमा ४६ करोड ७३ लाख रुपैयाँभन्दा बढीको १५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र अडटलमा कारोबार भएकामा वैशाखमा ३५ करोड ४५ लाख रुपैयाँभन्दा बढीको ८ लाख ९० हजारभन्दा बढी कित्ता धितोपत्र अडलटमा कारोबार भएको हो । अडटल कारोबार कित्ता भने वैशाखमा ४३ प्रतिशतभन्दा बढीले घटेको हो ।
नेपालको धितोपत्र बजारमा अडलट कारोबार खुला भए पनि सहज भने छैन । प्राविधिकरूपमा कारोबार गर्न कठिन रहेको अवस्थामा पछिल्लो समय अडलट कारोबार घट्दो क्रममा रहेको नेप्सेका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
अडलट कारोबारका लागि मार्केट डेप्थमा तथ्यांक सार्वजनिक नहुँदा कारोबारमा असहज नभएको भनाइ ती अधिकारीको छ । मार्केट डेप्थमा अडटलको अर्डर तथ्याङ्क सार्वजनिक नहुँदा अन्दाजको भरमा अर्डर राख्दा विक्री नहुने र खरीद मागबमोजिम शेयर नआउने समस्या रहेको ती अधिकारीले जानकारी दिए । अडलट कारोबारको तथ्याङ्क नेप्सेको इन्डेक्ससँग नजोडिने अर्थात् वास्तविक कारोबारमा गणना नहुने भएकाले पनि मार्केट डेप्थ नदेखाइएको समेत ती अधिकारीको भनाइ छ ।
२०७९ वैशाखअघि शुक्रवार मात्र अडलट कारोबार हुने गरेको भएपनि आम लगानीकर्ताको सुविधालाई ध्यानमा राखी २०७९ वैशाखदेखि भने हरेक दिन अडलट कारोबार गर्न सकिने व्यवस्था नेप्सेले गरेको छ ।
कारोबारलाई सहज र व्यवस्थित बनाउनेतर्फ पनि नेप्सेले अगाामी दिनमा काम गर्ने बताउँदै आएको छ । धितोपत्र दोस्रो बजारमा साधारण शेयर, ऋणपत्र, म्युचुअल फण्डका इकाई सूचीकृत छन् ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा अडलट कारोबारसम्बन्धी व्यवस्थामा अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता र अंकित मूल्य १०० रुपैयाँ भएमा १० कित्ता कारोबार इकाई हुने व्यवस्था छ ।
त्यस्तै धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य १० रुपैयाँ भएको भए १०० कित्ता र संस्थागत ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ भएको भए १ कित्ता कारोबार इकाई हुनेछ । यस व्यवस्थालाई आधार मान्दा मूल्यका हिसावमा धितोपत्रको अडलट कारोबार इकाई तय गरिएको छ । उल्लेखित कारोबार इकाई वा सोभन्दा बढी धितोपत्र भएका धितोपत्र धनीहरूले त्यस्तो धितोपत्रलाई अडलट बनाई कारोबार गर्न पाउने छैनन् ।
यो व्यवस्था कार्यान्वयनमा समस्या हुँदा अडलटमा भएका शेयरलाई कारोबार इकाई कायम गराउन थप शेयर खरीद गरी विक्री गर्ने लगानीकर्ता बढेको नेप्सेको अनुमान छ । नेप्सेले आगामी दिनमा अडलट कारोबारलाई समेत सहज तरिकाले अघि बढाउन गरी काम गर्ने योजना बनाएको छ । यसका लागि नेप्सेमा गृहकार्य भइरहेको समेत जानकारी प्राप्त भएको छ ।