काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रवार (आज) आदेश जारी गर्दै शनिवार (भोलि)देखि असार २४ गतेसम्मका लागि उक्त क्षेत्र वरपरको स्थानलाई निषेधित क्षेत्र तोकेका हुन् ।
आदेशअनुसार, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।
सो क्षेत्रमा उक्त अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यकममा निषेध गरिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम उक्त आदेश जारी गरिएको हो । जिल्ला सुरक्षा समितिको सुझावसमेतका आधारमा उक्त निर्णय गरिएको आदेशमा उल्लेख छ ।
राजावादीहरूको आन्दोलनलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको बताइएको छ ।
हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले बिहीवारदेखि दिनहुँ काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।