काठमाडौं । ट्रेड टावर लिमिटेडको पहिलो चरणमा जारी गरिएको आईपीओमा ५८ हजार २७८ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार वैशाख २२ गते अन्तिम दिनसम्म यी आवेदकहरुबाट १२ लाख ९२ हजार ३८० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा ३ गुणा बढी आवेदन हुन आउँछ ।
कम्पनीले सर्वसाधारणमा जारी गरिने कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा वैशाख ८ गतेदेखि १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ । कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कुल कित्तामध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्कासन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको पहिलो परियोजना काठमाडौंको थापाथलीमा ट्रेड टावर रहेको छ । कम्पनीले ललितपुरमा भैँसेपाटीमा १९० ओटा अपार्टमेन्ट निर्माण तथा विक्री गरी दोस्रो परियोजना सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ छ । गत आर्थिक वर्षसम्म ४ करोड ८२ लाख रुपैयाँ सञ्चित नाफामा रहेको कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ भने १२३ रुपैयाँ ९ पैसा रहेको छ ।