काठमाडौं । शेयर बजार परिसूचक नेप्से सोमवार (आज) पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ९.९८ अंक घटेर २ हजार ६१०.४० अंकमा झरेको छ । आइतवार भने परिसूचक २ हजार ६२०.३९ अंकमा बन्द भएको थियो । आजसँगै पछिल्लो ५ कारोबार दिन नेप्से ओरालो गतिमा छ ।
यस दिन परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब २४ करोडको शेयर कारोबार भएकोमा आज ७ अर्ब ६३ करोडको मात्रै कारोबार भएको छ ।
शेयर कारोबारका आधारमा आज नेप्सेमा लामो टुप्पी र लामो पुच्छर भएको सानो शरीर भएको रातो मैनबत्ती आकृति बनेको छ । यसले बजारमा उतारचढाव भएको देखाउँछ । यसले लगानीकर्तामा द्विविधा र अस्थिरताको संकेत गर्छ ।
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त हुन नसक्दा लगानीकर्तामा यस्तो मनोविज्ञान देखिएको जानकार बताउँछन् । यही कारण लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति बनाउँदा नेप्से र कारोबार रकम घटेको उनीहरूको भनाइ छ ।
आज ८६ धितोपत्रको शेयर मूल्य बढेको छ भने १५९ को घटेको छ । यस्तै, १ ओटाको भने स्थिर छ ।
यस दिन होटल र पर्यटन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमाबाहेक सबै परिसूचक घटेका छन् । जसमा वित्त समूहको परिसूचक सर्वाधिक ०.९७ प्रतिशत घटेको छ । यस्तै, म्युचुअल फण्डको परिसूचक सर्वाधिक ०.२० प्रतिशत बढेको छ ।
आज नेपाल माइक्रोइन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स र सिटिजन सुपर ३० म्युचुअल फन्डको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य भने ९.९९ प्रतिशत घटेको छ ।