सन् १९८० को आर्थिक उदारीकरणपश्चात् नेपालका लागि १११ ओटा मुलुकमा वैदेशिक रोजगारीको गन्तव्यका रूपमा खुला गरिएको देखिन्छ । आर्थिक उदारीकरण र मुलुकमा प्रजातन्त्रको पुनः स्थापनापश्चात् रोजगारीको लागि विदेश जानेहरूको मोह दिन प्रतिदिन बढ्दो छ । विसं २०४७ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको योगदान १ दशमलव ७४ प्रतिशत थियो भने अहिले करीब २८ प्रतिशत रहेको देखिन्छ । समष्टिगत आर्थिक स्थायित्वका परिसूचकहरू मध्ये विप्रेषण महत्त्वपूर्ण रहेको छ । हुन्डी कारोबार पनि विप्रेषण नै हो । यसमा वैधानिक तथ्यांक नरहने हुँदा यसबाट राज्यलाई औपचारिक योगदान हुँदैन र नेपालको कानूनअनुसार यस्तो कारोबार अवैधानिक मानिन्छ ।
यसलाई बैंकिङ च्यानलमार्फत कानूनी दायरामा कसरी ल्याउने भन्ने सम्बन्धमा सम्बद्ध निकायले बेलैमा ध्यान दिनुपर्छ । नेपालबाट करीब ५२ लाखभन्दा बढी जनसंख्या विदेशमा रहेको अनुमान छ । ११० ओटा देशमा श्रम स्वीकृतिको व्यवस्था भए तापनि १६० देशबाट विप्रेषण भित्रिने गरेको छ । हाल बैंक तथा वित्तीय संस्थामार्फत करीब ७४ प्रतिशत विप्रेषण प्राप्त हुने गरेको छ भने २६ प्रतिशत हुन्डीबाट नै विप्रेषण आइरहेको जानकारहरूको भनाइ रहेको देखिन्छ ।
विसं २०५७/५८ देखि नेपाल राष्ट्र बैंकले विप्रेषण भित्र्याउन संस्थागतदेखि डिजिटल व्यवस्था गर्दै आएको छ ।
नियमनको दायरा बाहिर रहेको छाया बैंकिङ कारोबार गर्ने संस्थालगायत सहकारीको कारोबार, ढिकुटी र मुख्य रूपमा हुन्डीजस्ता कारोबारले बैंक तथा वित्तीय संस्थाको अलावा समग्र अर्थतन्त्रमा नै चुनौती थपेको देखिन्छ । सस्तो कमिशन, छिटोछरितो सेवा र स्रोत कागजातको झन्झटबिना बैंकिङ संयन्त्रले नछोएको विकल्पमा व्यक्ति वा संगठित निकायको सम्पर्कबाट निजको अभिकर्ता (एजेन्ट)मार्फत रकमको कारोबार गर्नु नै हुन्डी कारोबार हो ।
विदेशमा रहेका एजेन्टले सम्बद्ध ग्राहकलाई निश्चित रकम भुक्तानी गरेबापतको रकम स्वदेशमा अर्को एजेन्टले लिने गर्दछ । त्यस्तै स्वदेशमा एजेन्टले रकम लिई विदेशी एजेन्टले सम्बद्ध लाभकर्तालाई त्यहाँको मुद्रामा भुक्तानी गर्छ । यो कुनै वैधानिक सञ्जाल र संगठनबाट नभई भूमिगत र अनौपचारिक संगठनको सञ्जालअन्तर्गत सञ्चालित रहेको पाइन्छ । यस्ता कारोबार गर्न स्वदेश तथा विदेशमा व्यक्ति तथा कुनै प्रयोजनजस्तै ट्राभल एजेन्सी, मेनपावर, विप्रेषण, नेटवर्क, कन्सल्टेन्सीजस्ता कार्य गर्ने उद्देश्य देखाई संस्थापना भई हुन्डीजस्ता गैरकानूनी कारोबारमा संलग्न रही सम्पत्ति शुद्धीकरण गर्ने मुख्य माध्यम बनिरहेका हुन सक्छन् । यस्तो कारोबारका लागि विनिमय दर आफ्नो इच्छाअनुसार कायम गरिएको हुन्छ भने कतिपय अवस्थामा कमिशन पनि
बढी लिने गर्छन् ।
आजभोलि हुन्डीलाई क्रिप्टोकरेन्सीसँग जोडेर हेर्ने गरिएको छ । हुन्डीको कारोबार विगत धेरै वर्षदेखि हुँदै आएको छ । यो सस्तो, सजिलो र कम कमिशन एवं विना झन्झटको कारण यसको प्रयोगकर्ता दिनहुँ बढिरहेको अवस्था छ । राज्यलाई ठूलो घाटा भएका हुँदा हुन्डीमार्फत रकम भित्रिने अवस्थाको अन्त्य गर्न कडा कानून ल्याउन ढिला भइसकेको छ । यो कारोबार हुने प्रमुख स्थानहरूमा काठमाडौं, वीरगञ्ज र विराटनगरलगायत शहर छन् । उपयुक्त र कडा कानूनको अभावमा हुन्डी कारोबारमा समातिएका व्यक्ति पनि सहजै प्रहरीबाट छुट्ने र अदालतबाट पनि सफाइ पाउँदै आएको अवस्था आइरहेको छ । विशेष गरी यसमा सम्पत्ति शुद्धीकरण ऐन २०६४ र विदेशी विनिमय ऐन २०३४ आकर्षित हुने गर्छ । हाल सम्पत्ति शुद्धीकरण ऐन २०८० (संशोधन सहितको) मा पनि यस हुन्डी सम्बन्धमा प्रभावकारी व्यवस्था हुन नसकेबाट यस कारोबार गर्नेलाई थप बल मिलेको देखिन्छ । हुन्डी कारोबार सहज भएकै कारण नेपालमा आतंकवादको चलखेल बढिरहेको अवस्था छ । हुन्डीको पैसा विशेष गरी अवैध सुन आयातलगायत अन्य सामान आयातमा पनि प्रयोग गर्ने गरिएको देखिन्छ । नेपालको कानूनअनुसार वैधानिक रूपबाट वस्तु तथा सेवाको खरीद गर्दा खोल्नुपर्ने एलसी लगायतको झन्झटिलो प्रक्रियाको कारण पनि हुन्डी कारोबार मौलाएको छ ।
विदेशी मुद्राको कारोबार गर्न इजाजतप्राप्त निकायहरूको अनसाइट र अफसाइट निरीक्षण गरी केन्द्रीय बैंकले यसरी गैरकानूनी माध्यमबाट हुनसक्ने कारोबारलाई निरुत्साहित गर्न ढिला भइसकेको छ । नेपालको वैदेशिक व्यापारको अधिकांश अंश भारतसँगको व्यापारले ओगटेको तथ्यांक रहेको छ तर भारतीय व्यापारीले नेपालमा गर्ने व्यापार र नेपाली वा भारतीय व्यापारीले भारतबाट नेपालमा गर्ने व्यापारको भुक्तानी प्रक्रियाको माध्यम आपसी सम्बन्धको आधारमा हुन्डी प्रणालीलाई बढी प्रयोग गरेका पाइन्छ । यस अर्थमा नेपाल र भारतबीचको व्यापारिक कारोबारको समेत सरकारी तथ्यांक दुरुस्त आउन हुन्डी कारोबारले बाधा पुर्याएको देखिन्छ । नेपाली बजारमा भारतीय मुद्राको माग बढी हुनु र आपूर्तिमा समस्या रहनुका कारण पनि हुन्डीका लागि निजी व्यापारिक क्षेत्रमा भारतीय रुपैयाँको सञ्चय गर्ने प्रवृत्ति मौलाएको छ ।
हुन्डीले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ जसमा कति रकम विदेशबाट नेपालमा ट्रान्सफर भयो भन्ने यकीन गर्न सकिँदैन, सरकारको राजस्वमा पनि प्रत्यक्ष असर पर्छ । यसले विदेशी मुद्राको विनिमय दरमा असर गर्नुका साथै बजारमा मुद्रास्फीतिसमेत बढाउने गर्छ । जनसाधारणलाई बैंकिङ कारोबारप्रति निरुत्साहित गर्नेदेखि लिएर वित्तीय समावेशितामा समेत यसले असर गर्छ । हुन्डीका कारण कर चोरी र सम्पत्ति शुद्धीकरणका घटनाहरू समेत दिनप्रतिदिन बढिरहेको देखिन्छ । तसर्थ यसलाई निरुत्साहित गर्न बैंकिङ च्यानलमार्फत विप्रेषण कारोबार गर्न वित्तीय साक्षरतालाई बढाउँदै स्वदेशी तथा विदेशमा रहेका नेपालीलाई प्रोत्साहित गर्न जरुरी छ ।
अर्कोतिर यससम्बन्धी कडा कानून निर्माण जरुरी भइसकेको छ । यससम्बन्धी पुराना नीतिनियमलाई परिवर्तन गर्ने, बैंकिङमार्फत कारोबार गर्दा करका दर तथा विप्रेषण शुल्कमा सहुलियत दिने, वित्तीय समावेशितालाई बढाउँदै देशका कुनाकाप्चामा बैंकिङ सुविधाको विस्तार गर्ने, यस कारोबारको चेकजाँचलाई कडाइ गर्ने, यससम्बन्धी कारोबार गर्नेलाई नेपाल राष्ट्र बैंकबाट लाइसेन्सको व्यवस्था गर्ने, यो पूर्णतया सम्पत्ति शुद्धीकरण र गैरकानूनी क्रियाकलाप हो भन्ने सम्बन्धमा जनचेतना विस्तार गर्दै कडा दण्डसजाय र ठूलो जरीवानाको व्यवस्था गर्ने, समुदाय, गाउँ विकास समिति, नगरपालिकालगायत स्थानीय सरकारसँगको सहकार्यमा यसलाई निरुत्साहित गर्ने, विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारमा जोड दिने, अन्तरराष्ट्रिय सरकार र वित्तीय एवं गैरवित्तीय संघसंस्थासँग आपसी सम्बन्धको विकास गरी हुन्डी कारोबारलाई निरुत्साहित गर्नुपर्छ । सुरक्षा निकायलाई थप अधिकारसहित सबल बनाई परिचालन गर्न सकेमा यो कारोबारको नियन्त्रण भई देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने कुरामा कसैको दुईमत नहोला ।
त्यसो त बहुसंख्यक स्वदेशी तथा विशेष गरी विदेशमा रोजगारमा रहेका व्यक्ति हुन्डीप्रति आकर्षित हुनुमा वित्तीय सेवामा सहज पहुँच, छिटो र सहज कारोबार, रोजगारी सृजना व्यवसाय र व्यक्तिको आयमा वृद्धि, सामाजिक सम्बन्ध विस्तार, परम्परागत व्यापार व्यवसायमा सहजीकरण, अनौपचारिक ऋण सुविधा, आवश्यकताअनुसार आर्थिक गर्जो टार्न सकिनेलगायत कारण छन् ।
हुन्डी कारोबार अवैध हो । तसर्थ यो कारोबारमा संलग्न हुँदा गुनासो र उजुर गर्ने वैधानिक बाटो रहँदैन भने कारोबारीले धोका दिएमा ग्राहकको पूरै रकम डुब्न जाने अवस्था नआउला भन्न सकिँदैन । हुन्डी कारोबारबाट विदेशमा नेपालीले कमाएको रकम विदेशमा नै रही नेपाली बैंकमा प्राप्त हुँदैन । त्यस्तै नेपालबाट विदेश जाने रकम बढी मूल्यमा कारोबार गर्नुपर्ने स्थिति आउन सक्छ । अन्ततः विदेशीले त्यसको भरपाई गैरकानूनी ढंगबाट जम्मा पारेका विदेशी मुद्राबाट लिएर जाने हुँदा स्वदेशमा पनि विदेशी मुद्राको अवैध सञ्चिति, कालो बजार, तस्करी, अपचलनका तरीकाहरू र अनधिकृत कारोबारमा प्रोत्साहन पुग्न जान्छ । साथै स्वदेशको पूँजी पलायन हुन गई राष्ट्रिय अर्थतन्त्र असर पुग्छ । सुरक्षा कमजोरीको कारण हाम्रो मुलुकलाई गैरकानूनी व्यापारको पारवहन बिन्दु (ट्रान्जिट प्वाइन्ट) का रूपमा प्रयोग गरी विदेशी मुद्राहरू अनधिकृत रूपले ओसारपसार गर्ने थलोका रूपमा विकास हुँदा राष्ट्रिय अर्थतन्त्रमा नै चुनौती थपिएको छ ।
खास र जायज प्रयोजनका लागि रकम पठाउन विभिन्न प्रावधानको पालना गर्नुपर्ने तर नाजायज प्रयोजनका लागि हुन्डी कारोबारबाट सहजै विदेशी मुद्राको कारोबार गर्न सकिने अवस्था यथावत् देखिन्छ । लाखौं नेपालीहरूको रोजगारीको गन्तव्य मुलुकहरू मलेशिया, कोरिया, जापान, खाडी तथा अन्य क्षेत्रबाट विदेशी मुद्राको प्रमुख स्रोतका रूपमा विप्रेषण प्राप्त भइरहेको छ । तर, अप्ठ्यारो परिस्थितिमा उनीहरूलाई न्यूनतम रकम पनि नेपालबाट पठाउन सकिने वैध संयन्त्र स्थापना गर्न र विकास हुन सकेको छैन । टिकट खर्च, उपचार, दण्ड, जरीवाना तिर्न नसकी विदेशमा अलपत्र परेको नेपालीलाई उनीहरूको आफन्तले बैंकिङ च्यानलमार्फत रकम पठाउन कठिनाइ रहेको देखिन्छ ।
एकातिर बैंकिङ माध्यमबाट पठाउन औपचारिक कागजात जुटाउन असम्भव हुने र हुन्डीमा भन्दा बढी दस्तुर खर्च हुने हुँदा तिनीहरूले हुन्डी कारोबारी खोज्न बाध्य रहन्छन् भने अर्कोतिर विदेशी नागरिकता पाउन, विदेशमा सम्पत्ति खरिद गर्न र बसोबास व्यापार गर्न तथा अवास्तविक मुद्रा बजारमा लगानी गर्न भने लाखौं डलर हुन्डीको माध्यमबाट कारोबार भइरहेकोले यसले अर्थतन्त्रमा नकारात्मक असर पुगेको सहजै अनुमान लगाउन सकिन्छ । हुन्डी सरकारको तथ्यांकमा देखिँदैन तर व्यक्ति वा संस्थाको व्यययोग्य आयमा वृद्धि हुने र आन्तरिक अर्थतन्त्र चलायमानमा भने यसको भूमिका महत्त्वपूर्ण हुँदै आएको छ । यस्तो रकमले विदेशी मुद्राको सञ्चिति घटाउनुको साथै अनधिकृत व्यापारसमेत मौलाएको छ । लागूऔषधको कारोबार बढ्नुको साथै आतंककारी क्रियाकलाप बढ्ने, सुन तस्करी, अवैध हातहतियारको कारोबार र सम्पत्ति शुद्धीकरणलगायत अन्य आपराधिक कारोबारसमेत हुने हुँदा यसले देशको अर्थतन्त्र र छविलाई समेत धमिल्याउने कार्य गर्छ भन्नुमा अत्युक्ति नहोला ।
(डा. वशिष्ठ बैंक तथा वित्तीय संस्थासम्बन्धी जानकार हुन् ।)