काठमाडौं । उद्योग, व्यापारमा गिरावट आउँदा यस वर्ष नेपालको अर्थतन्त्र सामान्य मात्र वृद्धि हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमानअनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ मा उपभोक्ता मूल्यमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुनेछ । यो वृद्धिदर सरकारले राखेको लक्ष्यभन्दा कम हो । यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारी लक्ष्य छ ।
यस वर्षका लागि राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर यसअघि विश्व बैंक र एशियाली विकास बैंकले गरेको प्रक्षेपणसँग नजिक छ । गत महीना विश्व बैंकले ३ दशमलव ३ र एशियाली विकास बैंकले ३ दशमलव ६ प्रतिशतले नेपाली अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेका थिए । चालू आवको ९ महीनाको वास्तविक आर्थिक क्रियाकलापको आँकडा र आगामी ३ महीनामा हुने क्रियाकलापको प्रक्षेपणको आधारमा वृद्धिदर अनुमान गरिएको तथ्यांक कार्यालयले बताएको छ ।
- यो वर्षको वृद्धिदर ३.८७ प्रतिशत रहने अनुमान
- आकार ५७ खर्ब रुपैयाँ बराबर
- अर्थतन्त्र सुधारोन्मुख भएको सरकारी दाबी
गत आव २०७९/८० मा नेपालको संशोधित आर्थिक वृद्धिदर १ दशमलव ९५ प्रतिशत रहेकोमा अहिले केही बढे पनि चालू आवसम्म नेपालको निर्माण र उत्पादनशील उद्योग क्षेत्रमा संकुचन कायमै देखिएको छ । कार्यालयका अनुसार उत्पादनशील उद्योग क्षेत्र १ दशमलव ६ प्रतिशतले खुम्चिने अनुमान छ । निर्माण क्षेत्र पनि २ दशमलव शून्य ७ प्रतिशतले खुम्चिने अनुमान छ ।
‘निर्माण र व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो,’ तथ्यांक कार्यालयले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
निजीक्षेत्रले पनि लामो समयदेखि बजारमा माग नहुँदा उद्योग पूर्ण क्षमतामा चलाउन नसकिएको गुनासो गर्दै आएको छ । ‘साथै पछिल्लो समय अर्थतन्त्रमा सृजित विभिन्न प्रतिकूल कारणले विश्वव्यापी रूपमै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो,’ तथ्यांक कार्यालयले भनेको छ ।
कार्यालयका अनुसार निर्माण सामग्रीको आयात र तिनको स्वदेशी उत्पादनमा भएको कमी जस्ता कारणले निर्माण क्षेत्र संकुचित हुने अनुमान गरिएको हो । सरकारको पूँजीगत खर्च बढ्दा निर्माण क्षेत्र पनि उँभो लाग्छ । तर, सरकारले चालू आवमा पूँजीगततर्फको बजेट धेरै खर्च गर्न सकेको छैन । ३ खर्ब २ अर्ब पूँजीगत बजेट छुट्ट्याएको सरकारले वैशाख मध्यसम्म १ खर्ब ३ अर्ब रुपैयाँ मात्रै खर्च गरेको महालेखा नियन्त्रक कार्यालयको अभिलेखमा देखिन्छ ।
गत साल संकुचनमा परेको व्यापार (होलसेल र रिटेल) क्षेत्रमा पनि खासै सुधार आउन सकेको छैन । यस क्षेत्रको वृद्धिदर शून्य दशमलव १६ प्रतिशत मात्र रहने सरकारी अनुमान छ । व्यापार क्षेत्र कृषिपछि सबैभन्दा धेरै अर्थतन्त्रमा योगदान गर्ने क्षेत्र हो । त्यसैगरी घरजग्गाा कारोबार र शिक्षालगायत क्षेत्रमा पनि सुस्ती आएको तथ्यांक कार्यालयले जानकारी दिएको छ । आन्तरिक तथा बाह्य कारण मुलुकमा उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् । त्यसको असरस्वरूप यस क्षेत्रमा १ दशमलव ६० प्रतिशतले कमी आउने अनुमान गरिएको छ भने घरजग्गा कारोबारमा मन्दी हुँदाहुँदै पनि २ दशमलव ९८ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान कार्यालयले गरेको छ । ‘चालू आवमा व्यापारजन्य वस्तुको आयात तथा आन्तरिक उत्पादनमा आएको गिरावटले यस क्षेत्रको मूल्य अभिवृद्धि नगन्य रूपमा मात्र वृद्धि हुने अनुमान गरिएको हो,’ तथ्यांक कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले भने ।
पूर्वमुख्यसचिव विमल कोइराला अझै पनि आर्थिक सूचकहरू सकारात्मक नरहेको बताउँछन् । कोभिडदेखि रूस–युक्रेन युद्धसम्म आउँदा त्यससँग जुध्ने सरकारसँग योजना नै नरहेको स्पष्ट देखिएको भन्दै कोइरालाले त्यस्ता संकट व्यवस्थापन गर्न सरकारसँग रणनीति नहुँदा लामो सयमसम्म उद्योगधन्दा, कलकारखाना प्रभावित भएको बताए । शासन व्यवस्थामा धेरै समस्या रहेकाले त्यो नसुधारेसम्म अर्थतन्त्र प्रभावित भइरहने उनको भनाइ छ । ‘त्यसै पनि नेपालको अर्थ व्यवस्थाको धरातल बलियो छैन । केही अस्थायी किसिमका परिसूचकले अर्थ व्यवस्था धानेको हो,’ उनले थपे, ‘विप्रेषण, पर्यटन, सेवाक्षेत्रबाट हुने आयले मुलुक धानेको हो । ती क्षेत्रमा संकट पर्नासाथ गाह्रो हुन्छ ।’ अर्थतन्त्र राम्रो बनाउन सरकारले नीतिगत सुधारदेखि लगानीमैत्री वातावरण सृजना गर्नुपर्ने उनले बताए । कोइरालाका अनुसार अर्थतन्त्रलाई क्रियाशील बनाउन बजेट प्रभावकारी हिसाबले खर्च गर्नुपर्छ भने बजारमा लगानी पनि बढाउनुपर्छ ।
चालू आवमा औद्योगिक वर्गीकरणअनुसार कुल मूल्य अभिवृद्धि वृद्धिदर भने सबैभन्दा राम्रो आवास तथा भोजन सेवामा रहने देखिएको छ । पर्यटक आगमनमा भएको सुधारले उक्त क्षेत्रको वृद्धिदर २१ दशमलव ८४ प्रतिशत हुने अनुमान गरिएको छ भने जलविद्युत् उत्पादन बढ्दा विद्युत्, ग्यास क्षेत्रको वृद्धिदर १७ दशमलव ४४ प्रतिशत रहने भनिएको छ । त्यस्तै यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर ११ दशमलव ८९ प्रतिशत रहने अनुमान छ । वित्तीय तथा बीमा सेवाको वृद्धिदर ७ दशमलव ८६ प्रतिशत रहने तथ्यांक कार्यालयले बताएको छ ।
धानलगायत वर्षे बालीको उत्पादनमा भएको वृद्धिले अर्थतन्त्रमा करीब एक चौथाइ योगदान रहेको कृषिक्षेत्रको वृद्धिदर ३ दशमलव शून्य ५ प्रतिशत रहने देखिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान २४ दशमलव शून्य ९ प्रतिशत छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन पोखरेलले अधिकांश सूचकहरू सकारात्मक देखिनुले अर्थतन्त्र सुधारोन्मुख रहेको बताए । यस वर्षको ९ महीनासम्मको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा यो आर्थिक वृद्धिदर सार्वजनिक गरिएको उनले जानकारी दिए ।
त्यस्तै, नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान छ । मंगलवारको विनिमय दरअनुसार नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आम्दानी १ लाख ९४ हजार २६ रुपैयाँ हाराहारी छ । गतवर्ष यस्तो आय १ हजार ४०५ डलर थियो ।
यस्तै चालू वर्षमा अर्थतन्त्रको आकार प्रचलित मूल्यमा ५७ खर्ब रुपैयाँभन्दा माथि पुग्ने अनुमान छ । गतवर्ष ५३ खर्ब ८१ अर्ब अर्थतन्त्रको आकार पुगेको अनुमान गरिएको थियो । सामान्यतया आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा हेर्ने गरिन्छ ।