काठमाडौं । ग्लोबल आइएमइ क्यापिटल लिमिटेडले असार २२ गतेदेखि नयाँ योजना सञ्चालनका लागि इकाई जारी गर्ने भएको छ ।
क्यापिटलले ग्लोबल आइएमई समुन्नत योजना २ नामक योजना सञ्चालन गर्न लागेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई विक्री गर्न लागेको हो । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना सञ्चालन गर्न लागेको हो ।
कुल १२ करोड इकाईमध्ये १ दशमलव ५ प्रतिशत अर्थात् १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १३ दशमलव ५० प्रतिशत अर्थात् १ करोड ६२ लाख इकाई बीज पूँजीको रूपमा ग्लोबल आइएमई बैंकका लागि राखी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागिएको हो ।
यी इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । असार २५ गतेसम्म निष्कासन मिति तय गरिएको छ । उक्त समयमा सबै इकाई विक्री नभएको खण्डमा साउन ४ गतेसम्म आवेदन खुला रहने जानकारी क्यापिटलले दिएको छ ।
योजनाको इकाई निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै मेरो शेयरमार्फत पनि आवेदन दिन पाउने व्यवस्था छ । इकाई निष्कासनका लागि गराइएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रवर्द्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ ।