काठमाडौं। निर्माण उपकरण ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एमएडब्ल्यू अर्थ मुभर्समार्फत नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने बताएको छ ।
नेपाली बजारलाई सहयोग गर्ने उद्देश्यले जेसीबी इन्डियाले केही एक्स्काभेटरका लागि ५ वर्ष वा १० हजार घण्टा वारेन्टी योजना ल्याएको बताएको छ । एमएडब्ल्यू अर्थ मुभर्सले विगत दुई दशकदेखि नेपालमा जेसीबीका निर्माण उपकरण विक्री वितरण गर्दै आएको छ ।
जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दिपक सेट्टीले नेपाल कम्पनीका लागि दक्षिण एसियाली क्षेत्रको महत्त्वपूर्ण बजार भएको बताए । यसलाई एमएडब्ल्यू अर्थ मुभर्समार्फत निरन्तरता दिन सफल भएको उनको भनाइ छ ।
कम्पनीका व्याकहोलोडर्स, एक्साभेटर, बिल्ड लोडर्स र टेलिह्याण्डलर्स प्रसिद्ध छन् । यसका उपकरणका पार्टपूर्जा र सर्भिसमा एमएडब्लू अर्थ मुभर्सले आउटलेटमार्फत सर्भिस भ्यान परिचालन गरी ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको बताइएको छ । एमएडब्ल्यूले हाल करीब ५०० जनालाई रोजगारी, तीनओटा विश्वस्तरीय प्रशिक्षण केन्द्र र हालसम्म ५ हजार चालकलाई तालीम प्रदान गरेको बताएको छ ।