काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारत-पाकिस्तान दुवै देश तत्काल पूर्ण युद्धविराम गर्न सहमत भएको बताएको बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भने‚ ‘ भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराम गर्न सहमति जनाएका छन् । ’
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा उल्लेख गरेका छन्- अमेरिकाको मध्यस्थतामा भएको लामो कुराकानीपछि भारत र पाकिस्तानले पूर्ण र तत्काल सिजफायर गर्न सहमति जनाएका छन् भन्ने घोषणा गर्दा म हर्षित छु ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तान विभिन्न मामिलामा वार्ता थाल्न सहमत भएको बताएका छन् । उनले भने‚ ‘ भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा विभिन्न मामिलामा वार्ता गर्न सहमत भएका छन् । ’
पाकिस्तानका विदेशमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री इसहाक डारले पनि सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै ‘पाकिस्तान र भारत पूर्ण र तत्काल संघर्षविराम गर्न सहमत भएको’ जानकारी दिएका छन् । उनले भनेका छन्‚ ‘ पाकिस्तान र भारत तत्काल लागू हुनेगरी सिजफायरका लागि तयार भएका छन् । पाकिस्तान सधैँ नै आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरी क्षेत्रमा शान्ति र सुरक्षाको पक्षमा रहेको छ । ’
युद्धविरामबारे भारतको भने कुनै प्रतिक्रिया आइनसकेको पनि बीबीसीले उल्लेख गरेको छ ।