काठमाडौं । सरकारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ मा पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने संकेत देखिएको छ । चालू आवको चैतसम्मको आन्तरिक र भन्सारतर्फको राजस्व संकलन अवस्था हेर्दा लक्ष्य भेट्न नसकिने लगभग निश्चित रहेको सरकारी अधिकारी बताउँछन् ।
चालू आवको पहिलो ९ महीनामा आन्तरिक राजस्व र भसान्र विभागले लक्ष्यको तुलनामा २५८ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेका छन् । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चैत मसान्तसम्म उसले संकलन गरेको राजस्व लक्ष्यको तुलनामा १०१ अर्बले कम छ । भन्सारबाट संकलित राजस्व लक्ष्यको तुलनामा १५७ अर्बले कम रहेको भन्सार विभागको भनाइ छ ।
आन्तरिक राजस्व विभागका निर्देशक आनन्दकुमार गुप्ताले लक्ष्यअनुसार राजस्व नउठेको बताए । ‘चालू आवको अन्त्यसम्मै लक्ष्यअनुसार संकलन हुन कठिन छ । तर, गत वर्षको तुलनामा राम्रो वृद्धि हुन सक्छ,’ उनले आर्थिक अभियानसँग भने ।
आन्तरिक राजस्व विभागका अनुसार चैतसम्ममा ३ खर्ब ६७ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ । यस अवधिको लक्ष्य ४ खर्ब ६८ अर्ब रुपैयाँ थियो । राजस्व संकलन गत आवको तुलनामा भने बढी छ । गत आवको चैतसम्ममा ३ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलन भएको आन्तरिक राजस्व विभागले बताएको छ । संकलित राजस्वमा आयकर १ खर्ब ७० अर्ब ७९ करोड छ, जुन गत आवको तुलनामा २० अर्ब रुपैयाँ बढी हो ।
मूल्य अभिवृद्धिकर ८७ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । यो पोहोर यही अवधिको तुलनामा ९ अर्बले बढी हो । अन्त:शुल्क संकलन भने गत आवको भन्दा कम छ । यो वर्ष चैतसम्ममा ७२ अर्ब ४१ करोड रुपैयाँ अन्त:शुल्क संकलन भएको छ । पोहोर यो ७४ अर्ब २८ करोड रुपैयाँ थियो । त्यस्तै ब्याज करतर्फ २८ अर्ब ३७ करोड रुपैयाँ संकलन भएको छ । पोहोर चैतसम्ममा ब्याजकर २५ अर्ब २२ करोड रुपैयाँ संकलन भएको थियो । घरबहाल कर र स्वास्थ्य सेवा शुल्क पनि पोहोरभन्दा कम छ । यो शीर्षकमा १ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ । गतवर्ष २ अर्ब ४६ करोड रुपैयाँ संकलन भएको थियो ।
गतवर्ष २ अर्ब ४६ करोड रुपैयाँ संकलन भएको थियो । स्वास्थ्य सेवाशुल्क ४ अर्ब ९२ करोड रुपैयाँ संकलन भएको छ । गतवर्ष ५ अर्ब २५ करोड रुपैयाँ संकलन भएको थियो । शिक्षा सेवा शुल्क २ अर्ब ३७ करोड रुपैयाँ संकलन भएको छ । गत आवको यही अवधिमा यो शुल्क १ अर्ब २६ करोड रुपैयाँ संकलन भएको थियो । आयातमा आएको कमीको असर भन्सारको राजस्व संकलनमा देखिएको छ । भन्सारबाट चैतसम्ममा ४ खर्ब ६४ अर्ब उठाउने लक्ष्य रहेकोमा ३ खर्ब ७ अर्ब उठेको छ । यो लक्ष्यको ६६ प्रतिशत हो ।
गतवर्ष यही अवधिमा ४ खर्ब ९० अर्बको लक्ष्यमा २ खर्ब ८५ अर्ब रुपैयाँ उठेको थियो । यद्यपि गतवर्षको तुलनामा राजस्व संकलनमा सुधार आएको भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले बताए । ‘चैतसम्म वार्षिक लक्ष्यको ४९ प्रतिशत उठेको छ । ३ महीनामा ५० प्रतिशत उठ्ने सम्भावना छैन,’ उनले भने । समग्रमा व्यापार घटेको, पेट्रोल डिजेल, हवाई इन्धनको खपत बढ्न नसकेको, साना गाडी पैठारीमा कमी आएको, निर्माण कार्य बढ्न नसक्दा भारी उपकरण नआएकाले राजस्व प्राप्तिमा असर परेको उनको भनाइ छ ।
अब भन्सार बिन्दुमा अड्किएका वस्तु कर तिरेर लैजान समय दिने, नलगेमा लिलाम गर्ने नीति रहेको उनले बताए । चोरीपैठारीमा समेत कडाइ गर्ने तयारी भन्सार विभागको छ । चालू आवको बजेटमा सरकारले १४ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा चैतसम्ममा ७ खर्ब ७३ अर्ब संकलन गरेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । यो लक्ष्यको ५२ दशमलव ५ प्रतिशत हो ।