चितवन । चितवनका केही दुग्ध उत्पादक डेरीहरूले दूध नउठाउने चेतावनी दिएका छन् । भुक्तानीका लागि दबाब दिन यहाँका दुग्ध उत्पादक सहकारी संस्थाहरूले सो चेतावनी दिएका हुन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले भने, “अहिले भुक्तानी माग गरेका सहकारीहरूबाट दूध उठ्न कठिन भएको छ ।” यहाँ उत्पादित दूध सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र निजी कम्पनीले लैजाने गरेका छन् ।
उनका अनुसार जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीहरुले विभिन्न डेरीहरुबाट रु ८० करोडभन्दा बढीको भुक्तानी पाउन बाँकी रहेको छ । सो रकममध्ये डिडिसीको रु ३५ करोडभन्दा बढी रहेको छ भने अन्य रकम निजी डेरीहरूको हो । अध्यक्ष बगालेका अनुसार जिल्लाबाट ४० भन्दा बढी डेरीले दूध लैजाने गरेका छन् ।
भुक्तानी माग्दा ती डेरीहरूले दूध लैजान कम गर्ने गरेका हुन् । उनले भने, “किसानले भुक्तानी माग्दा दूध उठाउन कम गर्छन् ।” कतिपय डेरीहरूले नियमित लैजाने दूधबाट कटौती गरेर थोरै लैजान थालेको जानकारी उनले दिए ।
गत पुस १ गतेदेखिको भुक्तानी लिन बाँकी रहेको छ । यस्तै अवस्था आए दुग्ध उत्पादक किसान आन्दोलनमा आउन बाध्य हुने उनले बताए । चितवनबाट दैनिक १ लाख ५१ हजार लिटर दूध बाहिर जाने गरेको सङ्घले जनाएको छ । जसमध्ये ३५ हजार लिटर दूध डीडीसीले लाने गरेको छ । अहिले जिल्लामा दैनिक ३ लाख लिटरभन्दा बढी दूध उत्पादन हुँदै आएको छ ।
किसानको भुक्तानी दिन ढिला गरेपछि सङ्घले स्थानीय प्रशासनलाई भुक्तानीका लागि सहजीकरण गर्न आग्रह गरेका छन् । किसानको समस्या समाधानका स्थानीय प्रशासन समन्वय गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बताए । भुक्तानी दिन ढिला गर्ने उद्योगलाई सम्पर्क गरेर, बोलाएर छलफल गरिने उनले बताए । यस विषयमा गृह मन्त्रालय र कृषि मन्त्रालयसँग आफूले समन्वय गर्ने उनकै भनाइ छ । रासस