काठमाडौं । धितोपत्र कारोबारमा पछिल्लो समय जलविद्युत् कम्पनीहरूले सर्वाधिक अंश ओगट्दै आएका छन् । आम लगानीकर्ताको रोजाइमा पर्ने जलविद्युत् क्षेत्रका ९२ कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत छ । अरू समूहको तुलनामा जलविद्युत् समूहमा सूचीकृत कम्पनीको संख्या बढी छ ।
सूचीकृत जलविद्युत् कम्पनीमध्ये सर्वाधिक शेयरमूल्य भएका १० कम्पनीको सूची उल्लेख गर्दा प्रतिकित्ता ८०० रुपैयाँभन्दा माथि नै शेयरमूल्य रहेको पाइन्छ, जुन मूल्य वाणिज्य बैंकका कुनै पनि कम्पनीको छैन । पूँजीका हिसाबमा बलिया मानिने वाणिज्य बैंकको शेयर मूल्यको तथ्यांक हेर्दा अधिकतम मूल्य प्रतिकित्ता ६६८ रुपैयाँ ८९ पैसा मात्र देखिन्छ । यो एभरेष्ट बैंकको पछिल्लो मूल्य हो ।
जलविद्युत् कम्पनीहरूको शेयर मूल्य न्यूनतम २०० रुपैयाँभन्दा माथि नै रहेको नेप्सेले जानकारी दिएको छ । सर्वाधिक शेयरमूल्य भएका १० जलविद्युत् कम्पनीमा क्रमशः कुथेली बुखरी स्मल हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, भगवती हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, रावा इनर्जी, शुभम पावर र बाराही हाइड्रोपावर हुन् । १० नम्बरमा रहेको बाराहीको शेयरमूल्य जेठ १९ गते प्रतिकित्ता ८०१ रुपैयाँ ८ पैसा कायम भएको छ ।
जलविद्युत्मा सर्वाधिक शेयरमूल्य भएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता १ हजार ९२१ रुपैयाँ कायम भएको छ । यो कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।
आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।