वीरगञ्ज । गत फागुन १९ गते चिकित्सक तथा व्यवसायी डा. शम्भु चौधरीले आफ्ना भारतमा रहेका आफन्तको विवाहको लागि सिमराको होटेल इच्छाका ९३ ओटा कोठा र केही हल बुकिङ गरे । आफ्ना जेठानका छोराको विवाहको लागि उनले ५० हजार ४० रुपैयाँ पेश्की दिएर आगामी डिसेम्बर ३ र ४ (मङ्सिर १७ र १८ गते) का लागि उक्त होटेलका कोठा तथा हल बुकिङ गरेका थिए ।
होटेलसँग भएको सहमतिअनुसार विवाह समारोहमा क्याटरिङ तथा इभेन्ट म्यानेजमेन्टको जिम्मा ग्राहकले आफै गर्ने गरी २ दिनका लागि २० लाख ९७ हजार रुपैयाँ होटेललाई तिर्ने गरी बुकिङ गरिएको थियो । कोलकाताबाट आएका क्याटरिङ र इभेन्ट म्यानेजमेन्टको टिमलाई ठाउँ देखाउन जब जेठ २८ गते उनी होटेल पुगे, उनलाई अकस्मात् विवाहको कार्यक्रमको समय सार्न प्रस्ताव होटेल व्यवस्थापनबाट आयो । ‘होटेलको आकस्मिक प्रस्तावले म त छाँगाबाट खसेझैं भएँ,’ चौधरीले आर्थिक अभियानलाई भने । ‘होटेलको अपरेशन म्यानेजर घनश्याम शर्माले यस्तो प्रस्ताव गरेपछि मैले सोधें– के तपाईंले जोक गरेको हो ?’
होटेल सञ्चालक इच्छा वाग्लेको निर्देशनका आधारमा डिसेम्बर ३ र ४ तारिखका लागि होटेल अरूकै नाममा बुकिङ गरिएको जानकारी आफूलाई दिइएको चौधरीले बताए । ‘हामीले पेश्की पनि दिएर बुक गरेको होटेल भेन्यु हामीलाई सोध्दै नसोधी कसरी अरूलाई दिन पाइन्छ भनेर हामीले वादविवाद गर्यौं, तर त्यसको सुनुवाइ भएन,’ सक्षम ट्रेडिङका प्रबन्ध निर्देशक रहेका चौधरीले भने । आफ्ना भारतमा रहेका आफन्तले रेल र जहाजको टिकट बुकिङ पनि गरेको सन्दर्भमा होटेलको व्यवहारले आफ्नो आत्मसम्मानमै ठेस पुगेको उनले बताए । ‘म आफन्तसामु मुख देखाउन नसक्ने अवस्थामा छु,’ चौधरीले भने ।
डा. चौधरीले उपलब्ध गराएको कागजातअनुसार दुईदिने वैवाहिक कार्यक्रमका लागि २० लाख ९७ हजार रुपैयाँमा होटेल बुक गरी उनले गत ४ मार्चमा ५० हजार ४० रुपैयाँ तिरेका थिए । चौधरी र होटेलका सञ्चालन व्यवस्थापक धनश्याम शर्माबीच होटेलको दररेटबारेमा सम्झौतासमेत भएको छ । तर, होटेल सञ्चालक इच्छाबहादुर वाग्ले भने त्यसलाई सम्झौता नै मान्न तयार छैनन् । ‘सम्झौता भनेको ४/५ पेजको हुन्छ । त्यसमा सबै शर्त लेखिएका हुन्छन् । होटेलका आफ्नै नियम छन् । अलिकति रकम दिएर सम्पर्क नभएपछि समस्या भयो । हामीले अर्को मितिमा सार्न आग्रह गर्यौं, तर उहाँ मान्नुभएन,’ वाग्लेले भने ।
चौधरीले भने होटेलका उच्च कर्मचारीहरूसँग निरन्तर सम्पर्कमा रहेको, तर जेठ २८ गतेभित्र न त नयाँ सम्झौता गर्नुपर्छ भनेको न पेश्की रकम नै नपुगेको भनेर खबर गरेको बताए । ‘विवाह जस्तो विषयमा खेलाँची गर्न पाइन्छ ?’ उनले सोधे ।
आफूले बुक गरेको दिनका लागि अर्कैलाई होटेल दिएर सम्झौताविपरीत काम गरेको भन्दै डा. चौधरीले जिल्ला प्रशासन कार्यालय बारामा होटेल इच्छाविरुद्ध जाहेरी दिएका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले होटेल इच्छाले सम्झौताविपरीत काम गरेको भन्दै निवेदन परेको बताए । यसबारेमा होटल सञ्चालकसँग बुझ्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।
सीमावर्ती क्षेत्रमा खुलेका होटेलमा भारतीयहरू वैवाहिक कार्यक्रमका लागि आउने गरेका छन् । तर, यहाँका केही स्तरीय मानिएका होटेलले नै बढी पैसा पाएमा त्यसअघि गरेको बुकिङ रद्द गरेर ग्राहकलाई दुःख दिने गरेको गुनासो आएको स्थानीय प्रशासनले बताएको छ ।
इच्छा होटेलमा विवाहको कार्यक्रम नहुने भएपछि भारतमै होटल बुकिङ गरिएको डा. चौधरीले बताए । तर, धोका दिएको भन्दै होटललाई त्यसै छाडिदिने सोचाइमा भने उनी छैनन् । उनले आफू उक्त होटलविरुद्ध मुद्दा नै हाल्ने तयारीमा लागेको जानकारी दिए । ‘जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छौं,’ उनले भने ।