विराटनगर। उद्योग संगठन मोरङले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समस्या र आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा सुझाव पेश गरेको छ ।
संगठनका अध्यक्ष राकेश सुराना नेतृत्वको प्रतिनिधिमण्डलले सुझाव बुझाएको हो । संगठनले अर्थमन्त्री पुनसँग आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत अहिलेको आर्थिक शिथिलतालाई सम्बोधन गर्न आग्रह गरेको छ ।
संगठनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई उद्योगको अवस्थाप्रति संवेदनशील भई अभिभावकको भूमिका निर्वाह गर्न भनेको छ । प्रक्रियागत जटिलता न्यूनीकरण, कार्गाे रेल तत्काल सञ्चालनको वातावरण निर्माण र औद्योगिक पूर्वाधार निर्माण गर्न पनि संगठनले आग्रह गरेको छ ।
प्रतिनिधिमण्डलले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग पर्यटन क्षेत्रका समस्या समाधान गर्न आग्रह गरेको छ । संगठनले भारतीय पर्यटक भित्त्याउन पनि अनुरोध गरेको छ ।
टोलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग विद्युत् आपूर्तिको समस्याबाट आजित उद्योग व्यवसायको वर्तमान अवस्था जानकारी गराउँदै विद्युत् आपूर्ति नियमित गर्न र गुणस्तर सुधार्न माग गरेको छ । विद्युत् आपूर्तिमा समस्या नै हो भने लोडशेडिङ तालिका सार्वजनिक गर्न पनि प्रधिनिधिमण्डलले अनुरोध गरेको छ । प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर आर्थिक क्षेत्रका समस्या र समाधानका उपाय सुझाएको छ ।