- एक व्यापार सर्वेक्षण कम्पनी अनुसार २०२४ मा – कामदारको अभाव, आपूर्ति समस्या र कमजोर व्यावसायिक वातावरणका कारण लगभग ६० हजार इजरायली कम्पनी बन्द भएका थिए । युद्ध लम्बिँदा यो अवस्था झनै बिग्रिन सक्छ ।
- इरानको रियालले २०१८ यता डलरसँगको मूल्यमा ९० प्रतिशतभन्दा बढी गिरावट भोगेको छ । आधिकारिक मुद्रास्फीति दर ४० प्रतिशत भनिए पनि कतिपय विश्लेषकहरू यो ५० प्रतिशतभन्दा बढी रहेको बताउँछन् ।
इजरायल र इरान युद्ध हप्ता दिन नाघे पनि आक्रमणमा व्यस्त भइरहँदा क्षेत्रीय रूपमा अझ ठूलो द्वन्द्वको डर छ । तर, दीर्घकालीन युद्धको खर्च थेग्ने यी दुई राष्ट्रहरूको क्षमतामाथि प्रश्न उठेको छ । शुक्रवार इजरायलले इरानका थुप्रै शीर्ष सैन्य कमान्डर र आणविक वैज्ञानिकहरूलाई मार्नुका साथै केही आणविक केन्द्रहरूमा क्षति पुर्याएको थियो । यसपछि इजरायलले इरानको जीवाश्म इन्धन क्षेत्रका केही भागहरूमा समेत क्षति पुर्याएको छ । यसको जवाफमा इरानले इजरायली सरकारी भवनहरू र शहरी क्षेत्रहरूमा मिसाइल आक्रमण गरेको छ ।
यो युद्ध इजरायलका लागि कति महँगो पर्न सक्छ ?
इजरायलको गाजा युद्ध (अक्टोबर २०२३ देखि) र इरानसँगको पछिल्लो तनावले देशको इतिहासमै सबैभन्दा खर्चिलो द्वन्द्वकाल बनाएको छ । इजरायली व्यापार पत्रिका क्याल्क्यालिस्टका अनुसार गाजा युद्धको लागत मात्र २०२४ को अन्त्यसम्म अन्दाजी ९ खर्ब रुपैयाँ पुगेको थियो । जुन १५ मा प्रकाशित वाइनेट न्युजको रिपोर्टअनुसार इरानसँगको लडाइँको पहिलो दुई दिनमै झन्डै २ खर्ब १८ अर्ब रुपैयाँ खर्च भएको थियो । यो दरमा युद्ध सात हप्ताभन्दा बढी चल्दा इजरायलको कुल युद्ध खर्च गाजा युद्धको भन्दा माथि जान सक्छ ।
रक्षा बजेट २०२३ मा ६० अर्ब शेकेल (२.३ खर्ब रुपैयाँ) बाट बढेर २०२४ मा ९९ अर्ब शेकेल (३.३ खर्ब रुपैयाँ) पुगेको थियो । २०२५ का लागि अनुमान ११८ अर्ब शेकेल (करिब ७१५ अर्ब रुपैयाँ) रहेको छ । इजरायलको अर्थ मन्त्रालयले २०२५ का लागि कुल घाटा कुल गार्हस्थ्य उत्पादनको ४.९ प्रतिशत (१०५ अर्ब शेकेल) राखेको छ । तर युद्धका कारण यो लक्ष्य कठिन हुनसक्छ ।
इजरायलको ऋण व्यवस्थामा कस्तो असर पार्न सक्छ ?
हालसालै कर संकलन अनुमान ५१७ अर्बबाट ५३९ अर्ब शेकेलमा वृद्धि भए पनि इजरायलको आर्थिक वृद्धिदर ४.३ प्रतिशतबाट घटेर ३.६ प्रतिशतमा झरेको छ । फासबीडीआई नामक एक व्यापार सर्वेक्षण कम्पनी अनुसार २०२४ मा कामदारको अभाव, आपूर्ति समस्या र कमजोर व्यावसायिक वातावरणका कारण लगभग ६० हजार इजरायली कम्पनी बन्द भएका थिए । युद्ध लम्बिँदा यो अवस्था झनै बिग्रिन सक्छ ।
एस एन्ड पी ग्लोबल रेटिङ्सले इजरायली अर्थतन्त्रको जोखिमबारे चेतावनी दिँदै क्रेडिट रेटिङ घटाएर ए माइनसमा झर्न सक्ने बताएको छ । यसले इजरायलका लागि ऋण लिन झन महँगो बनाउन र लगानीकर्ताको विश्वास कम गर्न सक्छ ।
इरानको तेल तथा ग्यास उद्योगमा कस्तो असर परेको छ ?
हालैका दिनहरूमा इरानको कच्चा तेल निर्यात ठूलो मात्रामा घटेको छ । इरानको कच्चा तेल र कन्डेन्सेट निर्यात १०२,००० ब्यारेल प्रतिदिन अनुमान गरिएको छ जुन यस वर्षको औसत २.४२ लाख ब्यारेलको आधाभन्दा कम हो । खार्ग द्वीप जहाँबाट इरानको ९० प्रतिशतभन्दा बढी तेल निर्यात हुन्छ त्यहाँ हाल कुनै ट्यांकर रहेको देखिएको छैन ।
२०२५ मा इरानले दैनिक ३.४ मिलियन ब्यारेल कच्चा तेल उत्पादन गरेको छ, जसको मुख्य खरीददार चीन हो तर अधिकांश तेल घरेलु उपयोगका लागि हो । शनिवार इजरायली मिसाइल आक्रमणबाट खाडीस्थित दक्षिण पार्स ग्यास क्षेत्रमा उत्पादन आंशिक रूपमा रोकिएको थियो । यो विश्वकै सबैभन्दा ठूलो ग्यास क्षेत्र हो जसले इरानको ८० प्रतिशत ग्यास उत्पादन गर्दछ । यसका साथै, इजरायलले तेहरान नजिकको शहर रेयको प्रशोधन केन्द्र र अन्य इन्धन डिपोहरूमा पनि आक्रमण गरेको छ ।
इरानमाथिको प्रतिबन्धको भूमिका कस्तो छ ?
१९७९ को इस्लामी क्रान्ति र अमेरिकी दूतावास संकटपछि इरानमाथि अमेरिकी प्रतिबन्धहरू लागू भएका थिए । २०१५ मा इरानले अमेरिका, रूस, चीन, फ्रान्स, जर्मनी, बेलायत र युरोपेली संघसँग आणविक सम्झौता गरेपछि प्रतिबन्ध केही हदसम्म हटाइएको थियो ।
२०१६ मा इरानले प्रतिदिन २.८ मिलियन ब्यारेल तेल निर्यात गरेको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा फेरि प्रतिबन्ध लगाएपछि इरानको तेल निर्यात ९० प्रतिशतभन्दा बढी घटेको छ ।
२०१८ पछि इरानको विदेशी मुद्रा आम्दानी धेरै घटेको छ । हाल चीनमात्र इरानको प्रमुख व्यापारिक साझेदार बनेको छ । तर, कम राजस्वका कारण देशको पूर्वाधार विकास निकै कमजोर बनेको छ ।
राष्ट्रपति मसाउद पेजेश्कियनले समेत हालको आर्थिक अवस्था इरान–इराक युद्ध (१९८०–८८) को समयमा भन्दा गम्भीर रहेको बताउँदै आएका छन् । मार्चमा उनले इरानमाथिको नयाँ अमेरिकी प्रतिबन्धको खुलेआम आलोचना गरेका थिए ।
इरानका अन्य आर्थिक चुनौतीहरू के के छन् ?
ऊर्जा र पानीको अभाव, मुद्रा अवमूल्यन, सैन्य रूपमा सहयोगी समूहहरूको असफलता, बेरोजगारी र गरिबी इरानले भोग्नु परेका अन्य समस्या हुन् ।
इरानको रियालले २०१८ यता डलरसँगको मूल्यमा ९० प्रतिशतभन्दा बढी गिरावट भोगेको छ । आधिकारिक मुद्रास्फीति दर ४० प्रतिशत भनिए पनि कतिपय विश्लेषकहरू यो ५० प्रतिशतभन्दा बढी रहेको बताउँछन् । मूल्यवृद्धिले आयातित वस्तुहरू महँगो बनाएको छ । तास्निम समाचार संस्थाले श्रम संस्थाका प्रमुख इब्राहीम सादेघीफरलाई उद्धृत गर्दै २०२५ को सुरुमा २२–२७ प्रतिशत इरानीहरू गरिबीको रेखामुनि रहेको जनाएको थियो । बेरोजगारी दर ९.२ प्रतिशत भनिए पनि श्रमिक संगठनका अनुसार वास्तवमा जीविकोपार्जन गर्न सक्ने काम नभएका व्यक्तिको संख्या अझै धेरै छ ।
इरानले कति खर्च गर्न सक्छ ?
राजनीतिक विश्लेषक हम्जा अल–गाओदका अनुसार, इरानले कुल जीडीपीको ३ देखि ५ प्रतिशत मात्र रक्षा क्षेत्रमा खर्च गर्छ । यो भनेको १२ अर्ब अमेरिकी डलर हो । यद्यपि इरानसँग लगभग ४३३ अर्ब डलर विदेशी मुद्रा सञ्चिति छ । लामो युद्धमा खर्च गर्नुले दीर्घकालीन रूपमा अर्थतन्त्रलाई नराम्ररी असर पार्न सक्छ ।
‘हाल राष्ट्रवादी भावनाले जनताको समर्थन देखिन्छ,’ उनले भने, ‘तर यदि थप आक्रमण र नागरिक विस्थापन बढ्यो भने जनताको धैर्य सकिन सक्छ ।’ इरान र इजरायल दुवैको युद्धलाई लामो समयसम्म टिकाउने आर्थिक सामथ्र्य सीमित देखिन्छ । इजरायलको ठूलो बजेट भए पनि ऋण बढाउने सम्भावना छ भने इरान लामो समयदेखि प्रतिबन्धग्रस्त अर्थतन्त्र, मुद्रा संकट र सार्वजनिक असन्तोषसँग जुझिरहेको छ । युद्ध बढ्दै गएमा दुवै देशको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेतहरू देखिएका छन् ।
(अल जजिराबाट)