काठमाडौं। बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले गत आर्थिक वर्ष (आव) २०२२/२३ मा सञ्चालन आम्दानी बढाएको छ । उक्त वर्ष कम्पनीले घरेलु बजारमा विक्री र निर्यात गरेर १३ अर्ब ६१ करोड रुपैयाँ आम्दानी गरेको हो ।
कम्पनीले हालै गराएको रेटिङमा उक्त आम्दानी गरेको उल्लेख छ । रेटिङ संस्था केयर रेटिङ नेपालले यही मार्चमा गरेको रेटिङले कम्पनीको आम्दानी बढेको देखाएको हो । आव २०२१/२२ मा कम्पनीको यस्तो आम्दानी १३ अर्ब १ करोड रुपैयाँ थियो ।
त्यसको अघिल्लो वर्ष २०२०/२१ मा आम्दानी १० अर्ब ६९ करोड रुपैयाँ थियो । एफएमसीजी प्रडक्ट उत्पादन गर्दै आएको कम्पनीले आफ्ना उत्पादन निर्यातसमेत गर्दै आएको छ । केयर रेटिङले जारी गरेको सूचनाअनुसार आव २०२२/२३ मा डाबर ८ अर्ब ४८ रुपैयाँको उत्पादन निर्यात गरेको छ । डाबर ब्रान्डमा कम्पनीले फ्रुट जुस/बेभरेज, च्यवनप्रास, ग्लुकोज, डाबर रेड टुथपेस्ट, हेयरआयल, डाइजेस्टिभ ट्याब्लेट (हजमोला), हनीजस्ता खाद्यवस्तु उत्पादन गर्दै आएको छ ।
आयुर्वेदिक र हर्बल सामान उत्पादनमा सक्रिय कम्पनीले नेपालमा लगानी विस्तार गर्न लगानी बोर्ड नेपालबाट स्वीकृति पाइसकेको छ ।