संघीयताको प्रयोग हुन थालेपछि स्थानीय सरकारहरू राजनीतिक रूपले स्वायत्त हुँदै त्यसको स्वतन्त्र प्रयोगमा बलिया त भएका छन् नै सृजनात्मक सोचका क्षेत्रमा पनि केही न केही रूपले अगाडि आउन थालेका देखिन्छन् । पक्कै पनि यो राम्रो कुरा हो । खासगरेर, नीति निर्माण र आर्थिक विषयमा स्वायत्त भएपछि स्थानीय सरकारहरूले स्थानीय क्षेत्रमा केही नवीन कामहरू गरेर उदाहरण पनि प्रस्तुत गरेका देखिन्छन् । तर, कहिलेकाहीँ तिनका केही काम भने सबैको आँखाको तारोसमेत बन्ने गरेको पाइन्छ । जस्तैः अग्लाअग्ला डाँडामा भ्युटावर बनाउने, अनावश्यक ठाउँमा अग्लाअग्ला टावररूपी व्यावसायिक भवन निर्माण (दमक भ्यूटावर) गर्ने, ताल निर्माण (भरत ताल) गर्नेजस्ता र जथाभावी सिको गरेर बनाइएका मनोरञ्जन पार्कहरूको निर्माणजस्ता केही उदाहरण अहिले नागरिकका आँखामा तारो मात्र बनेका छैनन् त्यस खाले विकासको आवश्यकतामाथि नै पनि प्रश्न उठ्न थालेका छन् । अहिले त्यस खाले विकास निर्माणसित जोडिएर आएका भ्रष्टाचार र अनियमितताको गन्ध र रागले भने आम नागरिकमा संघीयतामाथि नै वितृष्णा पैदा हुनु शुभ होइन । राजनीतिक स्वायत्तताका नाममा हुने आर्थिक चलखेल र अनियमिततालाई महालेखाले समेत आफ्ना प्रतिवेदनमा सरोकार राखेर चिन्ता पनि व्यक्त गरेको देखिन्छ ।
- अहिले वैदेशिक रोजगारीमा जाने अधिकांशको दाम्पत्य जीवन सुखमय हुन सकेको देखिँदैन । सोही कारण पारिवारिक विखण्डनको स्थिति आएको छ ।
- सम्बन्धमा आएको समस्याका कारण जग्गा लुकाउने र सम्पत्ति नदेखाउने प्रवृत्ति पनि बढेको छ ।
- नवीन खाले सोचमा गरिने कुनै खर्च वा बजेटको आकारसित मात्र यस खाले सोचको उपलब्धिलाई तुलना गर्न नमिल्ला, यसको प्राप्ति त चिरकालीन हुन्छ ।
नवीन सोच र सृजनाको थालनी गर्ने केही स्थानीय सरकारहरूकै मेसोमा हालै मात्र मोरङको सुन्दर हरैंचा नगरपालिकाले उक्त क्षेत्रमा बसोवास गर्दै आएका उदाहरणीय जोडी अर्थात् सुखदसँग पतिपत्नी बनेर समाजलाई उदाहरण प्रस्तुत गर्ने जोडीलाई पुरस्कृत गर्ने निर्णयले एक नयाँ तरंग ल्याएको यो लेखन्तेलाई लागेको छ । उक्त नगरपालिकाले यसलाई ढुकुर जोडी भनेको छ । त्यस्ता जोडीको खोजीका लागि मूल्यांकनका १२ सूत्रीय आधार राखिएको रहेछ । हुन त ती आधारमध्ये केही आधार भने थोरै अव्यावहारिक लागे पनि (जस्तोः संयुक्त परिवारमा बसेर सासू ससुराबाआमालाई हेरेको हुनुपर्ने भन्ने) यो असल र दिगो दाम्पत्य जीवन निर्वाह गरेर समाजमा असल सन्देश प्रवाह गरिरहेका जोडीहरूलाई प्रोत्साहन गर्ने र तिनका यस्ता उदाहरणले समाजमा सधैं कुकुर बिरालाकै नियति भोगेर पारिवारिक विखण्डन गर्ने र हाल बढ्दै गएको सम्बन्धविच्छेदका सामाजिक र पारिवारिक घटनालाई दुरुत्साहित गर्ने अभीष्टले नयाँ पुस्तालाई खास सन्देश प्रवाह गर्ने यो सोचको प्रशंसा भने गर्नैपर्छ ।
अहिले हाम्रो समाजमा सम्बन्धविच्छेदका घटना नजानिँदो तरीकाले बढ्दो छ । स्थानीय सरकारहरूले नै यसो भन्दै आएका छन् । अदालतमा पनि यसखाले मुद्दामामलाको संख्या बढ्दो छ । यो पक्कै पनि सामाजिक चिन्ताको विषय हो । कारण अनेक हुन सक्लान् । तर पनि यसको ग्राफ बढ्नुले हाम्रो समाजमा नजानिँदो तरीकाले बढ्दै गएको सामाजिक विकृतिको पाटोलाई भने उजागर गर्छ नै । यस्तो ग्राफ बढ्ने होइन, घट्नुपर्छ । चिन्ता यहाँनेर हो । अब यस्तै चिन्ता गरेर माथिकै उदाहरण नै सही, त्यस खाले प्रोत्साहनले सम्बन्धविच्छेदका पारिवारिक मुद्दामामला घटाउनमा कायापलटै नभए पनि समाजमा त्यसले असल सन्देश मात्र प्रवाह गर्न सक्यो भने पनि यस्ता सोचको उपलब्धिलाई उल्लेख्य मान्न सकिन्छ, मान्नुपर्छ पनि । यसमा गरिने कुनै खर्च वा बजेटको आकारसित मात्र यस खाले सोचको उपलब्धिलाई तुलना गर्न नमिल्ला, यसको प्राप्ति त चिरकालीन हुन्छ ।
झट्ट हेर्दा स्थानीय सरकारले विकास निर्माणका काम छाडेर के गरेको होला ? भन्ने पनि लाग्दो हो । कतिपय नारीमुक्तिका अभियन्ता एवम् नारीवादीहरूले यसलाई सहज रूपमा नलेलान् पनि । तर, सम्बन्धविच्छेदजस्ता पारिवारिक विखण्डनले पार्ने सबैभन्दा ठूलो मारचाहिँ सन्तानमाथि पर्ने कुरा नारीवादीलगायतले सोच्नैपर्ने विषय हो । हाम्रै समाजमा देखिएकै छ, कतिपय अवस्थामा विवाहको उत्तरार्द्ध कालमा आएर पनि सम्बन्धविच्छेदका घटना हुने गरेका छन् । कतिपय नारीले सौता हाल्दासमेत बोल्दैनन् । लोग्नेले जति नै भौतिक हिंसा गरे पनि ती प्रहरीसम्म पनि पुग्न चाहन्नन् । किनभने तिनलाई लोग्नेको हिंसाका पीडाभन्दा आफ्ना ससाना लालाबालाको चिन्ता बढी हुँदो रहेछ । मेरो नजिकका केही आफन्तमा महिला हिंसाका यस्ता केही घटना विवाह भएको ३० वर्षपछि मात्र थाहा भएको देखेर यो अनुभव यहाँ शेयर गरेकोसम्म हो । उनको त्यस्तो पीडा र लोग्नेको हिंसा देखेर सबैले कानूनी सल्लाहकारले समेत, सम्बन्धविच्छेद वा कानूनी रूपमा अलग भएर बस्ने सल्लाह दिए पनि तिनको विचार सुन्दा भने हामी सल्लाह दिनेहरू तीनछक्क मात्र परेनौं नारी जातिकै वैचारिक महानतामाथि गर्व पनि लागेर आयो । उनलाई लोग्नेको हिंसाभन्दा ससाना लालाबालाको पढाइलेखाइ र तिनलाई विवाहसम्म गराउनेको पो बढी चिन्ता रहेछ । बुझ्दै जाँदा थाहा भयो, तिनका लोग्ने त नेपालकै कुनै राम्रो संस्थामा उच्च ओहदामा आसीन पो रहेछन् । हाम्रो समाजमा भित्रभित्रै भूसको आगो तापिरहेका, लोग्नेका हिंसात्मक रापताप सहिरहेका कति यस्ता नारी होलान् ? ती घटना बाहिर बिरलै आउँछन् । तिनलाई महिला हिंसाको उस्तो चिन्ता हुँदैन, बरु आफ्ना सन्तानको चिन्ता र तिनका भविष्यको हुन्छ । तीसौं वर्षसम्म पनि कतिपय नारीले आफ्ना पतिको यस्ता पीडालाई भित्रभित्रै दबाएर र बाहिर कुनै रखौटी नै राखे पनि कुनै प्रतिवाद नगरी सहेरै बस्ने नारीहरू खोज्दै जाने हो भने थुप्रै होलान् । एउटा सत्य के हो भने उचाल्नेहरूले कालान्तरसम्म साथ नदेलान् । उचाल्छन् उचाल्छन् र जान्छन् । बाँकी जीवनसित लड्ने र भोग्ने त स्वयम्ले हो ।
हामो समाजमा सम्बन्धविच्छेदलाई बुझेजसरी सजिलो गरी व्यवहारमा उतार्न भने सजिलो छैन, कमैले चाहन्छन् । तर आज भने अनेकौं कारण, युवा पुस्तामा खासगरेर सम्बन्धविच्छेदका घटना व्यापकरूपले पैmलँदो छ, एक खाले उत्तरआधुनिक संस्कारैजस्तो गरेर । तर, यो सामाजिक विकार हो, चिन्ता हो । यसले गर्दा अब झट् मगनी पट् विवाह भनेजस्तै आज बिहे भोलि छोडपत्र पनि भन्नुपर्ने हो कि ? भनेजस्तो हुन थालेको छ । खासगरेर अहिले वैदेशिक रोजगारीमा जाने अधिकांशको दाम्पत्य जीवन सुखमय हुन सकेको देखिँदैन । सोही कारण अनेक खाले पारिवारिक विखण्डनको स्थिति आएको मात्र होइन, त्यसले विकारका चरमरूप हत्या हिंसासमेत लिन थालेको छ । स्थानीय सरकारहरूमा यससम्बन्धी मुद्दामामला बढेका छन् । सामाजिक सम्बन्धमा चिरा पारेको छ । जायजेथाका नामको झैझगडा सोही कारण पनि बढेका छन् । जग्गा लुकाउने र सम्पत्ति नदेखाउने प्रवत्तिका कर्तुतहरू पनि बढेका होलान् । यी सब आखिर यही सम्बन्धविच्छेदसितै जोडिएर आएका वा त्यसले ल्याएका सहउत्पादन हुन्, विकार हुन् । यो सबैको जड भनेकै लोग्नेस्वास्नीबीचको दाम्पत्य जीवन सुखमय नहुनुसितै जोडिएको छ । यसैले पनि जडमै गएर समस्या निदान गर्नेतर्फको यस किसिमको सृजनात्मक सोचको प्रशंसा गर्नैपर्छ । हेरौं, त्यसको नतिजा कस्तो हुन्छ वा सामाजिक रूपान्तरणमा त्यसले आगत पुस्तालाई कस्तो सन्देश प्रवाह गर्छ त्यो भने आउने दिनले नै बताउनेछ । स्थानीय सरकारहरूमा, अदालतमा सम्बन्धविच्छेदका मुद्दामामला बढ्दै गएका समाचार त सार्वजनिकै भएका छन् ।
वैयक्तिक स्वतन्त्रताको पाटो एउटा होला । तर, वैवाहिक सम्बन्ध भनेको यौनिक मात्र होइन । सृष्टि र पारिवारिक निरन्तरतासित जोडिएको कुरा पनि त हो । त्यसैले लोग्नेस्वास्नीको सम्बन्ध चिरायु हुनुपर्छ, दिगो हुनुपर्छ, सुमधुर हुनुपर्छ भनिएको हो । हाम्रो सनातनीय हिन्दु संस्कार र विवाह विधिले पनि त्यही कुरा भन्छ, भनेको छ, अग्निलाई साक्षी राखेर वेदीका वरिपरि सातफेरा लिनुको एउटा अर्थ सात सात जुनीसम्मको सम्बन्धको अर्थ हो । तर, अचेल सातजुनीको त के कुरा एकै जुनी पनि लोग्नेस्वास्नीका सम्बन्ध बलियो गरी रहन छाडेको देखिन्छ । पतिपत्नीबीचकै सुमधुर सम्बन्धका वातावरण देखासिकी तिनका सन्ततिमा पर्ने हो । पारपाचुके लिएका अधिकांशका सन्तानमा अनेक खाले मानसिक बिकार भेटिनु स्वाभाविकै हो । कारण सानोमा मातापिताको न्यानोपनबाट ती जो वञ्चित हुन्छन् । पारपाचुके लिएकाहरूका सन्तानको स्थिति खराबै नभए पनि अधिकांशका मानसिक स्थिति भने सन्तुलित देखिँदैन । यो बढी मनोचिकित्सकहरूलाई थाहा हुने कुरा हो ।
मैले धेरै जना पारपाचुके लिएर बसेका मेरै आफन्तका सन्तानलाई नजिकबाट नियालेको छु । तिनका सन्तानको हरिबिजोक पनि हेरेको छु, तिनका मनोस्वभावलाई पनि नियालेको छु । परपाचुके लिएका तर उमेर हुनेहरूले दोस्रो विवाह गरेका उदाहरण प्रशस्तै छन् । तिनले आआफ्ना पूर्वपतिपत्नीका सन्तान लालाबालालाई स्याहारेका पनि होलान्, छन् । सौतेलो बाबु र सौतेनी आमाका हेरचाह व्यवहार पनि हेरिएका, देखिएका नै छन् । ती सबै भए पनि ती खाले सन्तानमा पाउनुपर्ने मानसिक शान्तिको सुख भने धेरै परको कुरा हुँदोरहेछ । यो तीतो यथार्थ हो । यसैले सुन्दर हरैंचाले अगाडि ल्याएको यसखाले पारिवारिक सुख चयनको खोजी एउटा अनुकरणीय उदाहरण बनेर जावोस्, आफ्नो नाममा जोडिएको विशेषणजस्तै ।
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।