काठमाडौं । २०८२ सालमा प्रदर्शनमा आएको फिल्म पूर्णबहादुरको सारंगीले नेपालको चलचित्र इतिहासमै सबैभन्दा धेरै कमाएको चलचित्र विकास बोर्डले स्पष्ट पारेको छ । बोर्डले हालसम्ममा सर्वाधिक आर्जन गरेका २५ फिल्मको नाम सार्वजनिक गरेकोमा पूर्णबहादुरको सारंगी उक्त पंक्तिमा सबैभन्दा अगाडि परेको छ । समाजमा अपहेलित गन्धर्व जातमा आफ्नो छोरालाई पढाउन एक बुबाले गरेको संघर्षको कथा रहेको उक्त चलचित्र दर्शकले निकै रुचाएका थिए । सरोज पौडेलले निर्देशन गरेको यो चलचित्रको मुख्य भूमिकामा विजय बराल छन् ।
सो चलचित्रले १७ लाख टिकट विक्री गरेको र यसको कमाइ ४६ करोड ८७ लाख रुपैयाँ रहेको बोर्डले जानकारी दिएको छ । त्यस्तै, रामबाबु गुरुङ निर्देशित कबड्डी–४ सर्वाधिक कमाउने चलचित्रको दोस्रो नम्बरमा परेको छ । तेस्रोमा विराज भट्ट र समीर भट्टको १२ गाउँ परेको छ । १२ गाउँलाई दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा ४ ले पछ्याएको छ । कमाइको हिसाबले उपेन्द्र सुब्बा निर्देशित फिल्म जारी पाँचौं नम्बरमा छ । ती फिल्मलाई बोर्डले सोमवार सम्मानित पनि गरेको छ ।
‘फिल्म निर्माताहरूले मनलाग्दी आफ्नो चलचित्रको कमाइको व्याख्या गरिरहेकोमा यस विषयमा पारदर्शिता ल्याउन हामीले सर्वाधिक कमाइ गर्ने २५ फिल्मको नाम र कमाइ सार्वजनिक गरेका हौं,’ बोर्डका अध्यक्ष दिनेश डिसीले आर्थिक अभियानसँग भने । ‘सार्वजनिक गरिएको कमाइ ग्रस आम्दानी हो ।’
उनका अनुसार सोमवार रियलटाइम बक्स अफिस शुरू गरेको परिप्रेक्ष्यमा धेरै कमाएका २५ फिल्मको नाम सार्वजनिक गरिएको हो । उनका अनुसार बोर्डका भएको डाटा राखी ५ करोड रुपैयाँभन्दा बढी कमाउने चलचित्र कुन–कुन हुन् भनेर दाबी पेश गर्न निर्माता र वितरकका नाममा सूचना प्रकाशित गरिएको थियो । उनीहरूबाट आएको विवरणसमेत ‘ट्याली’ गरेर २५ ओटा चलचित्र छनोट गरिएको हो । डिसीले कर तिरे/नतिरेको आधारमा पनि उनीहरूको दाबी जाँच गरेको बताए । सर्वाधिक कमाइ गर्ने २५ चलचित्रमा अधिकांश नेपाली मौलिक संस्कृति बोकेका छन् । ‘मौलिक र नेपालीपन बोकेका चलचित्र नै बढी चलेका देखिन्छन्,’ डिसीले भने । ‘यसले नक्कल गरेका फिल्मको बजार नेपालमा खासै नभएको स्पष्ट पार्छ ।’
बोर्डका एक पूर्वसदस्य खेटुलाल बिसी पनि नेपाली मौलिकता बोकेका फिल्मले राम्रो गर्दा यस्ता चलचित्र बनाउने क्रम बढेको बताउँछन् । ‘फिल्म हलहरूले पनि पहिलेको तुलनामा स्वदेशी चलचित्रलाई बढी सो दिन थालेका छन्,’ उनले भने सर्वाधिक कमाइ गर्नेको सूचीमा १० नम्बरसम्म पर्ने फिल्महरूमा दिपकराज गिरी र दिपाश्री निरौलाको टोलीले बनाएको छक्कापञ्जा सिरिजका चारओटा परेका छन् ।
बोर्डका अनुसार सर्वाधिक कमाउनेको छैठौं नम्बरमा छक्का पञ्जा १ सूचीकृत छ । सातौं नम्बरमा प्रदीप भट्टराई निर्देशित महाजात्रा छ । आठौं नम्बरमा छक्का पञ्जा ५ को नाम छ भने नवौंमा कोहिनुर छ । सो फिल्म स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको अन्तिम थियो । दशौं नम्बरमा छक्का पञ्जा २ को नाम परेको छ ।
रिलयटाइम बक्स अफिस शुरू
चलचित्र विकास बोर्डले सोमवारबाट रियलटाइम बक्स अफिस सिस्टम लागू भएको घोषणा गरेको छ । ‘यसबाट निर्माताले आफ्नो फिल्मको टिकट कति विक्री भयो रियलटाइममा हेर्न पाउँछ,’ बोर्डका अध्यक्ष दिनेश डिसीले भने । ‘यसले कमाइमा पारदर्शिता ल्याउँछ र निर्माता, वितरक एवं हल सञ्चालकबीच कसैले कमाइ ढाँटे कि भन्ने शंका निवारण गर्छ ।’
उनका अनुसार देशभरिका १६६ हलहरू यो प्रणालीमा जोडिएका छन् । उक्त प्रणालीमा नजोडिएका हलमा फिल्म चल्न नदिने नीति बोर्डले लिएको डिसीले स्पष्ट पारे ।