काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ९ करोड १५ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ५ करोड ४८ लाखमा झरेको हो ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ७ दशमलव ६९ प्रतिशत र सञ्चालन नाफा ३५ दशमलव ५९ प्रतिशत घटेको छ ।
नाफाघटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६ पैसा रहेकोमा चालू आवमा घटेर ८ रुपैयाँ ४३ पैसामा झरेको हो । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ९६ दशमलव ८० गुणा,तरलता अनुपात २९ दशमलव ५२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ७१ रहेको छ ।
चुक्ता पूँजी रू. ८६ करोड ७९ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. १ अर्ब २ करोड भन्दा बढी सञ्चिती गरेको छ । रिटेन्ड अर्निङ भने रू.५९ करोड ४७ लाख ऋणात्मक छ । कम्पनीको शेयर मूल्य धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ८ सय रुपैयाँ भन्दा बढी रहेको छ । बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८ सय २० रुपैयाँ कायम भएको छ ।