काठमाडौं । एनसेलले नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप बिहीवारबाट भैरहवामा सञ्चालनमा ल्याएको हो ।
भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता ‘न्यू लुम्बिनी ए टू जेड मोबाइल’सँगको साझेदारीमा एनसेलले यो सप इन सप सञ्चालन गरेको हो ।
एक कार्यक्रमबीच एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले सपको उद्घाटन गरेका थिए । सप इन सपबाट ग्राहकले एनसेलका सेवा एनसेल सेन्टरबाट जस्तै गरी लिन सक्छन् । ग्राहकले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैं अन रिन्यूअल जस्ता प्याक, सेवा, सुविधा लिने, ईसिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउने लगायतका विविध ग्राहक सेवा लिन सक्नेछन् ।
‘अब हाम्रा ग्राहकले सबै ग्राहक सेवा नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन् । यस अवधारणा अनुरूप हामीले देशैभर विभिन्न स्थानमा थप सप इन सपहरू सञ्चालनमा ल्याउने योजनामा छौं,’ चीफ अफ स्टाफ रोड्रिगेजले भने ।
आइतवारदेखि शुक्रवारसम्म हप्ताको ६ दिन यस सप इन सपले ग्राहकलाई सेवा प्रदान गर्नेछ । एनसेलले देशका विभिन्न स्थानमा ३३ ओटा एनसेल सेन्टर पनि सञ्चालन गर्दै आएको छ ।