काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पेसँगको सहकार्यमा नवीनतम अन्तर बैंक ‘स्क्यान टु क्यास’ सेवाको शुरुआत गरेको छ ।
महालक्ष्मी विकास बैंक नेपालमा यस्तो सेवा शुरू गर्ने पहिलो विकास बनेको बताइएको छ । यसअन्तर्गत ग्राहकले कुनै पनि बैंकको मोबाइल बंैकिङ एपमार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरी सजिलै नगद झिक्न सक्नेछन् ।
प्रारम्भिक चरणमा बैंकको दरबारमार्ग शाखा र थापाथली शाखाबाट यो सेवा शुरू गरिएको र निकट भविष्यमा देशभर यो सेवा विस्तार गरिने बताइएको छ । यो सुविधाको विस्तारसँगै परम्परागत रूपमा चेक वा एटिएम कार्डको प्रयोगमार्फत नगद झिक्नुपर्ने बाध्यता कम गर्न मद्दत पुग्ने विश्वास बैंकको छ ।
बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा अलि पे प्लस नेटवर्कमार्फत क्रस बोर्डर क्यूआर भुक्तानी सेवासमेत यसअघि शुरू गरिसकेको छ । बैंकले हालै मोबाइल एप्लिकेसन ‘महालक्ष्मी स्मार्ट साथी’ समेत सञ्चालनमा ल्याएको छ ।