काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म मागभन्दा करीब २४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार फागुन ३ गते साँझ ५ बजेसम्म १४ लाख ९२ हजार ७७८ जनाले कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका हुन् ।
यी आवेदकहरूबाट १ करोड ६६ लाख २६ हजार ५२० कित्ता शेयर खरीद माग भएको सिडिएससीको भनाइ छ । कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले जारी पूँजी रू. ३४ करोड २४ दशमलव ७१ प्रतिशतदरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो ।
प्रतिशेयर रू. १०० मूल्यका रू. ८ करोड ४० लाख बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा वितरण गरिसकिएको छ । त्यस्तै ५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा समेत बाँडफाँट गरी १६ हजार ८०० कित्ता शेयर कम्पनी कर्मचारीका लागि सुरक्षित गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले इलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी छ । हाल कम्पनीमा संस्थापकतर्फबाट रू. २२ करोड २० लाख रकम चुक्ता भएको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुग्नेछ ।