काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको ठूला पूर्वाधारमा लगानी गर्न गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेका छन् । गैर–आवासीय नेपाली संघको आयोजनामा काठमाडौंमा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ अन्तर्गत पोलिसिज एण्ड प्लेटफर्म क्रियटिङ इनेबलिङ एण्ड इन्भायरोन्मेन्ट फर डायस्पोरा इन्भेष्टमेन्ट विषयक कार्यक्रममा उनले सो आग्रह गरेका हुन् ।
विश्वभरि फैलिएको नेपाली डायस्पोरा विशेषज्ञता, नवीनता र वित्तीय पूँजीको आधार भएको उल्लेख गर्दै अध्यक्ष ढकालले एकजुट भएर नेपालका लागि केही गर्न सुझाव दिए । ‘एनआरएनए अलग अलग होइन, एकजुट भएर जानुपर्दछ । नेपालीहरू जहाँ पनि राजनीति गर्ने भन्ने सन्देश प्रवाह भएको छ । यो सकारात्मक होइन । यसलाई चिर्दै एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्छु,’ अध्यक्ष ढकालले भने ।
एनआरएनले उठाएका मुद्दाहरूमा महासंघले समर्थन गर्दै आएको चर्चा गर्दै उनले गैरआवासीय नेपालीलाई अधिकार मात्र नखोजेर देशप्रतिको कर्तव्य पनि सम्झेर काम गर्न आग्रह गरे । ‘म विदेश यात्राका क्रममा डायस्पोराबाट कहिलेकाहीँ नकारात्मक टिप्पणी सुन्ने गरेको छु । अमेरिका, अष्ट्रेलिया, कोरियाको तुलनामा हाम्रो देशमा कम विकास भएको छ । तर हामीले केवल आलोचना मात्र गर्ने कि नेपालको आर्थिक भविष्यका लागि साझा दृष्टिकोण बनाएर काम गर्न भन्ने हो । त्यसैले म एनआरएनएसँगको अनुभव, पूँजी, शीप र प्रविधिलाई नेपालमा प्रयोग गरेर नेपाललाई पनि अरू देशजस्तै समृद्ध मुलुक बनाउन काम गर्न आग्रह गर्दछु,’ अध्यक्ष ढकालले भने ।
नेपालमा लगानी गर्न एनआरएन इन्भेस्टमेन्ट कम्पनी स्थापना भए पनि पछि एनआरएनए लगानीकर्ताको स्वामित्व परिवर्तन भएको र कम्पनीले प्रतिफल दिन नसकेको भन्दै उनले स्थापित कम्पनीलाई उद्देश्य अनुरूप अगाडि बढाउन सुझाए । नेपालको पूर्वाधार विकासका लागि उद्योग वाणिज्य महासंघको पहलमा १० अर्ब पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरी काम भइरहेको जानकारी उनले दिए ।
एनआरएनएहरूलाई पनि कम्पनीमा सहभागी हुन उनले आह्वान गरे । नेपालमा पर्याप्त सम्भावना रहेको चर्चा गर्दै त्यो सम्भावना उजागर गर्ने यात्रामा सँगै हिँड्न एनआरएनएलाई आग्रह गरे ।