काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैंगिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी समझदारीभएको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रिम प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त सम्झौताबमोजिम आईएफसीले बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्तरराष्ट्रियस्तरमा कायम जोखिम व्यवस्थापन अभ्यासअनुरुप परिमार्जन गर्ने लगायत विषयमा परामर्श दिने बताइएको छ ।
त्यसैगरी आईएफसीले जलवायु वित्त क्षमता निर्माणको लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरूमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । आईएफसीले बैंकलाई स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजना लगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण प्रयासमा पनि विशेष परामर्श दिने बताइएको छ । सम्भौताअनुसारको आर्ईएफसीको परामर्शले नेपालमा जोखिम व्यवस्थापन, लैंगिक वित्त तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिनेमा बैंक विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।