काठमाडौं । संसद्का प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए ।
सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विमानस्थल अध्यागमनमा ‘भिजिट भिसा’मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गरे । उनले काम गर्न बाहिर जाने नागरिकबाट रु ५० लाखदेखि रु तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए ।
मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा अनुसन्धान हुनुपर्ने प्रतिपक्षी दलको माग छ । गृहमन्त्री रमेश लेखकले यसअघि धेरै नेतामाथि नैतिकताको विषय उठाएकाले उनले राजीनामा दिनुपर्ने प्रतिपक्षी दलका सांसदले माग गरेका छन् ।
‘गृहमन्त्री लेखकको सचिवालय यसमा जोडिएकाले अनुसन्धान गर्ने निकाय सबै गृहमन्त्री मातहत रहेकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुपर्छ, उहाँले राजीनामा दिनुपर्छ । राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि बढ्दैन,’ सांसद पुनले भने । रासस