काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन रिइन्स्योरेन्स लिमिटेडले ९८ करोड ९३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ९३ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ६ दशमलव २५ प्रतिशत बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको कुल आम्दानी करिब २२ प्रतिशत र कुल खर्च करिब २५ प्रतिशत बढेको छ ।
गत वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ५ अर्ब २० करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । कुल खर्च भने गत वर्ष २ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष ३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ । शेयर प्रिमियममा ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको स्पेशल जगेडा कोषमा १ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी र जगेडा कोषमा १ अर्ब २ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
महाविपत्ति कोषमा भने १६ करोड ४९ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले करिब २० प्रतिशत बढी ४ अर्ब १८ करोड रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ भने ४२ दशमलव ३७ प्रतिशत बढी २ अर्ब २८ करोड रुपैयाँभन्दा खुद दाबी भुक्तानी गरेको छ । प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १६१ रुपैयाँ २४ पैसा छ ।