भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति पुर्याएपछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् ।
हुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन् । निरन्तरको वर्षाले फल्ने वेला भएका खुर्सानीमा क्षति पुर्याएको स्थानीय कृषक कुमार विष्टले बताए । किसानको राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने वेलामा हावाले क्षति गरेपछि समस्या भएको उनको भनाइ छ ।
बोखिमका अधिकांश किसानले अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् । मल्चिङ प्रविधिबाट यहाँका किसानले खुर्सानी खेती गरिरहेका छन् ।
पछिल्लो समय दैवी प्रकोपको अलावा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, फलमा कीरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ । भोजपुर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ । रासस