logo
झापामा हावाहुरीले केराखेती नष्ट गर्दा ५१ लाख रुपैयाँ बराबरको क्षति
झापामा हावाहुरीले केराखेती नष्ट गर्दा ५१ लाख रुपैयाँ बराबरको क्षति
फाइल तस्वीर
A
२९ बैशाख २०८२

बनियानी । झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ । आइतवार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब रु ५१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

हावाहुरीले बाह्रदशी–७ का १५ घरपरिवारले लगाएको केराका बोट ढलेका छन् । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायव निरीक्षक बलबहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज स्थलगत अनुमगन गरी क्षतिको विवरण सङ्कलन गरेको प्रवक्ता खड्काले बताए ।

हावाहुरीले झापा मेचीनगर नगरपालिका–१५ गाइनाबारीस्थित मेचीनगर–१० धुलाबारीका कपिल क्षेत्रीलगायतले सामूहिक रुपमा सञ्चालन गरेको कामक्ष इण्डष्ट्रिज प्राइभेट लिमिटेड (प्लाई उद्योग) मा पानीसँगै आएको हावाहुरीले पिलिङ भवनको पश्चिम साइडको ट्रस, जस्ताले बनेको छाना उडाएको, सिसीटीभी क्यामेरा फुटाई करिब २ लाख २० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै, वर्षासँगै आएको हावाहुरीले दमक नगरपालिका–८ का ५५ वर्षीय दुर्गा प्रसाईंले सञ्चालन गरेको दुर्गा काटा गल्ला भण्डारमा (फापर, धान, मकै) स्टोर गरेको हलको ३५ वटा जस्तापाता पूर्ण रुपमा उडाएको र छानाको भागमा रहेको फलामका पाइपहरू समेत बाङ्गिएर क्षति भएको छ । उक्त स्टोर हलभित्र रहेको ५५/६० बोरा फापर पानीले भिजेको छ भने करिब रु १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

यसैगरी, झापा हल्दिबारी गाउँपालिका–४ बलटोलका ६९ वर्षीय सकलदीप साहको टिनको छाना बाँसको टाटीबेराले बनेको तीनकोठे कच्ची घर पानीसँगै आएको हावाहुरीले उडाएर पूर्ण रुपमा क्षति हुँदा करिब रु १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

हावाहुरीले दमक नगरपालिका–४ सङ्गम चोककी ३८ वर्षीया कमला अधिकारीको डेढ तले पक्की घरको माथिको तलाको सिँढी छोप्ने जस्ता उडाउँदा करिब रु ३० हजार बराबरको क्षति भएको छ भने सोही स्थानका ५२ वर्षीय भीमप्रसाद सिग्देलको पक्की घरको माथिल्लो तलाको दुईवटा कोठाको जस्ता उडाउँदा करिब रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.