काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीबाहेक पूँजी पुर्याउन बाँकी सबै जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी पुग्ने देखिएको छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार जीवन बीमा कम्पनीहरूले न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्छ । त्यसका लागि प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को अन्त्य (असार मसान्त) सम्मको समयसीमा तोकेको छ । हालसम्म आठओटा कम्पनीले चुक्ता पूँजी पुर्याइसकेका छन् । चार कम्पनीको पूँजी वृद्धि योजना हेर्दा तोकिएको पूँजी पुग्ने अवस्था छ ।
- रिलायबल नेपाल लाइफले बोनस शेयर दिएर
- तोकिएको पूँजी पुर्याउने
- सन नेपाल लाइफले २७ प्रतिशत हकप्रद शेयर निष्कासन गरिसक्यो
- प्रभु महालक्ष्मी लाइफ पनि बोनस शेयरकै भरमा
अमेरिकी कम्पनी मेटलाइफले नेपालमा दर्ता गरेको सहायक कम्पनीको पूँजीको हकमा भने प्राधिकरणले छुट्टै व्यवस्था गरेको छ । हालसम्मको अवस्थामा तोकेबमोजिम पूँजी कायम गरिसक्ने कम्पनीहरूमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, सूर्यज्योति, सानिमा रिलायन्स, सिटिजन, आइएमई, नेशनल, हिमालयन र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । नेपाल र हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ९ अर्ब रुपैयाँभन्दा बढी छ । रिलायबल नेपाल, एशियन, सन नेपाल र प्रभु महालक्ष्मी लाइफ भने तोकेबमोजिम पूँजी कायम गर्ने अन्तिम तयारीमा छन् ।
रिलायबल नेपालले तोकिएको पूँजी पुर्याउन गतवर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको छ । उक्त बोनस शेयर असार २ गते वार्षिक साधारणसभाबाट पारित गर्न लागेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड रुपैयाँभन्दा बढी कायम हुनेछ । सन नेपालले २७ प्रतिशत हकप्रद शेयर निष्कासन गरिरहेको छ । यसले वैशाख ३० गतेदेखि असार हकप्रद शेयर निष्कासन गरिरहेको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ३ करोड रुपैयाँभन्दा बढी कायम हुनेछ ।
प्रभु महालक्ष्मीले पनि अपुग पूँजी ८ प्रतिशत बोनस शेयरमार्फत कायम गर्न लागेको छ । हाल ४ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी रहेको प्रभु महालक्ष्मी लाइफले जेठ २६ गते वार्षिक साधारणसभामार्फत उक्त बोनस शेयर पारित गर्नेछ । बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १० करोड रुपैयाँभन्दा बढी कायम हुनेछ ।
एशियन लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गरेको छ । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । कम्पनीका सूचना अधिकारी होमबहादुर श्रेष्ठले गतवर्षको मुनाफाबाट बोनस शेयरमार्फत अपुग पूँजी कायम गर्ने योजना रहेको बताए ।
गतवर्षको वार्षिक साधारणसभा गर्न बाँकी रहेको जानकारी दिँदै सूचना अधिकारी श्रेष्ठले गत आवको बीमांकीय मूल्यांकन कार्य सम्पन्न भएपछि नियामकको स्वीकृति लिएर बोनस शेयर वितरण गर्ने तयारी कम्पनीको रहेको स्पष्ट पारे ।
हालसम्मको अवस्थामा राष्ट्रिय जीवन बीमा कम्पनीको पूँजी कायम हुने कुरा अनिश्चित नै देखिन्छ । हाल १८ करोड १० लाख रुपैयाँभन्दा बढी चुक्ता पूँजी रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र हकप्रदमार्फत पूँजी कायम गर्ने योजना अघि सारेको छ । सरकारी स्वामित्वको यस कम्पनीले हालसम्म आव २०७४/७५ सम्मको वार्षिक लेखापरीक्षण सम्पन्न गरेको जानकारी कम्पनीका वित्त विभाग प्रमुख रेशम पौडेलले दिए ।
सर्वसाधारणबाट १ अर्ब ५० करोड आईपीओमार्फत र संस्थापकबाट ३ अर्ब ५० करोड उठाउने योजना कम्पनीको रहेको पौडेल बताउँछन् ।
उनका अनुसार यो कम्पनीमा सरकारको २७ दशमलव ७८, नेपाल राष्ट्र बैंकको ५५ दशमलव ५६ र नेपाल बैंकको १६ दशमलव ६६ प्रतिशत शेयर स्वामित्व कायम छ । सरकारले यस वर्ष कम्पनीको संस्थागत विकासमा बजेटमार्फत पनि जोड दिएकाले आगामी दिनमा पूँजी थप गरेर सहज वातावरण सृजना हुने विश्वास उनले व्यक्त गरे ।
२०७४ सालदेखि बीमाक्षेत्रमा जारी रहेको पूँजी वृद्धि योजनामा यति बेला सबै कम्पनी सक्रिय छन् । नेपाल बीमा प्राधिकरणले बीमाक्षेत्रका जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरूमा पूँजी वृद्धिको योजना अघि बढाएको हो । शुरूका दिनमा जीवन र निर्जीवन बीमा कम्पनीमा मात्र लागू भएको पूजी वृद्धि अभियानमा पछिल्लो समय लघुबीमा र नेपाल पुनर्बीमा कम्पनी समेटिएको हो । जीवन बीमा कम्पनीले ५ अर्ब, निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड, लघुबीमाले ७५ करोड र पुनर्बीमा कम्पनीहरूले २० अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था छ ।