काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक जीएमआरसँगको सम्झौताको म्याद नथप्न सरकारसँग आग्रह गरेका छन् । आयोजना विकास सम्झौता (पीडीए) अनुसार समयमा काम सम्पन्न गराउन नसकेको भन्दै उनले सरकारको आलोचना समेत गरे ।
बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दै रावलले आफूले पहिल्यै जीएमआरले उक्त आयोजना सम्पन्न गर्न नसक्ने र सके पनि राष्ट्रिय हितमा नहुने सम्बन्धमा सचेत गराएको स्मरण गराए । उनले कम्पनीले काम अघि बढाउन नसक्नुको कारण स्पष्ट पार्न सरकारसँग माग पनि गरे ।
पीडिए सम्झौता भएको २४ महीनाभित्र आयोजनाको र ४८ महीनाभित्र प्रसारण लाइनको वित्तीय व्यवस्थापन गरिसक्नु पर्ने तथा नियन्त्रण बाहिरको परिस्थितिमा १ वर्ष थप गर्न सकिने व्यवस्था रहेको छ । तर, नियन्त्रण बाहिरको के परिस्थिति आयो उल्लेखविनै कम्पनीले दुईपटक सम्झौता अवधि थप गरेको नेता रावलले बताए । उता जीएमआर स्रोतले भने आयोजनाको काम अघि बढिरहेको बताएको छ । पहिलो चरणमा आवश्यक ४९ हेक्टर व्यक्तिगत जग्गामध्ये १२ हेक्टर अधिग्रहण भइसकेको जीएमआर स्रोतले जानकारी दिएको छ ।
२० हेक्टर जग्गा भोगचलन गर्नेको नाममा लालपुर्जा पनि नभएका कारण भुक्तानी गर्न समस्या परेको कम्पनीको दाबी छ । ‘यसमा सरकारको सहजीकरण आवश्यक छ,’ स्रोतले भन्यो ।
आयोजना क्षेत्रमा पर्ने ५ मध्ये ३ सामुदायिक वनको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को प्रतिवेदन तयार गर्न आयोजनाले आर्थिक सहयोग समेत गरेको स्रोतले उल्लेख गर्यो ।
बोर्ड बैठक नबसी भन्न सकिँदैन : लगानी बोर्ड
माथिल्लो कर्णाली आयोजना विकासका लागि जीएमआरसँगको सम्झौताको अवधि गत असोजमै सकिएको हो । कम्पनीले समय थपका लागि निवेदन पनि दिइसकेको छ । तर, बोर्डको बैठक बस्न नसकिरहेका कारण सम्झौताको विषय टुंगिन नपाएको हो । बोर्ड बैठक नबसी सम्झौता के हुन्छ भन्न सकिँदैन ।
पीपीए हुनासाथ काम अघि बढ्छ : जीएमआर
आयोजना किन बनेन ? अवरोध केके छन्, कहिल्यै कसैले खोजी गरेन । यस आयोजनाले शुरूदेखि नै सरकारका नीति परिवर्तन र अन्य धेरै समस्या भोगिरहेको छ । त्यसको हिसाब कसैले निकालेको छैन । बंगलादेशले ५ सय मेवा विद्युत् खरीद गर्ने निश्चित भएका कारण त्यसको पीपीए पर्खिएर बसेका छौं । पीपीए हुनासाथ काम अघि बढ्छ ।
