logo
जीवन विकास लघुवित्तको १४.७३६९ प्रतिशत लाभांश पारित
जीवन विकास लघुवित्तको  १४.७३६९ प्रतिशत लाभांश पारित

विराटनगर। जीवन विकास लघुवित्त वित्तीय संस्थाको पाँचौं साधारणसभाले शेयरधनीलाई १४.७३६९ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । आइतवार सम्पन्न सभाले आर्थिक वर्ष २०७९/८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ७३६९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर वितरणपछि संस्थाको चुक्तापूँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ पुगेको छ । साधारणसभाले अन्य लघुवित्त संस्थासँगको मर्जर र प्राप्तिका लागि आवश्यक कार्य गर्नका लागि सञ्चालन समितिलाई अधिकार दिने निर्णय पनि गरेको छ । लघुवित्तको साधारणसभालाई सम्बोधन गर्दै सांसद योगेन्द्र मण्डलले लघुवित्तलाई बचाउनुपर्ने अवस्था आएको बताएका छन् । पछिल्लो समय लघुवित्तविरुद्ध विभिन्न अभियान चलिरहेको भन्दै उनले यस्तो समयमा सदस्य केन्द्रित सेवा प्रदान गरेर लघुवित्तलाई जोगाउनुपर्ने धारणा राखे ।

संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले विश्वव्यापी आर्थिक मन्दी र समुदायमा बैंक तथा वित्तीय संस्थाविरुद्धको गतिविधिले गर्दा गतवर्ष चुनौतीपूर्ण रूपमा बितेको बताए । यद्यपि विपन्न तथा असहाय परिवारलाई आयमूलक कार्यमा सामेल गराई सहयोग गर्ने लघुवित्तको काम प्रभावकारी रूपमा अघि बढेको उनको भनाइ थियो । यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलका अनुसार २४ जिल्लामा फैलिएको जीवन विकास लघुवित्तमा ३ लाख ४ हजार सक्रिय सदस्य छन् । 

संस्थाका सञ्चालक समिति सदस्य गोकर्ण खतिवडाले जीवन विकास लघुवित्तले अघि सारेका योजनालाई जीवन विकासवादको रूपमा विकास गरेर लैजानुपर्ने बताए । उक्त लघुवित्तका सञ्चालक सदस्य इन्द्रनारायणदेव वैश्यले लघुवित्तले शुरू गरेका राम्रा कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.