पहाडको समूहभित्र पाँचओटा सुरुङहरू छिरिरहेका छन् । एक विशाल संरचना र फराकिलो सुरक्षा घेराबन्दी छ । यति मात्र हो जुन हालसालैका उपग्रह चित्रबाट इरानको रहस्यमयी फोर्डो इन्धन संवर्धन केन्द्र देखिन्छ । पवित्र शहर कुमनजिकै निर्माण गरिएको यो गोप्य र कडाइका साथ सुरक्षा गरिएको जमीनमुनिको भव्य संरचना २००९ मा सार्वजनिक भएपछि यसको वास्तविक उद्देश्य र आकारबारे निरन्तर अड्कल चलिरहेको छ । हामीलाई यसबारे थाहा भएको धेरै कुरा इजरायली गुप्तचर संस्थाले वर्षौंअघि चोरेको इरानी कागजातबाट आएको हो ।
यस केन्द्रका मुख्य हलहरू करीब ८०–९० मीटर (२६२–२९५ फिट) जमीनमुनि रहेको अनुमान छ । यो इजरायलसँग भएका कुनै पनि बलले भत्काउन सक्दैन । हवाई आक्रमणबाट यो साइट नष्ट गर्नु लगभग असम्भव छ । इरानले हालै इजरायली आक्रमणहरू भोगिरहेको अवस्थामा केही विश्लेषकहरू भन्छन्, ‘फोर्डोमा इरानले संवर्धित यूरेनियमलाई परमाणु बममा रूपान्तरण गर्न सक्ने सम्भावना छ ।’
इजरायलले हालै यो साइटमा हमला गरे तापनि अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार अहिलेसम्म इजरायल यसलाई क्षति पुर्याउन सफल भएको छैन । तेहरानले लामो समयदेखि आफ्ना आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको बताउँदै आएको छ तर फोर्डो इरानको महत्त्वाकांक्षी योजना भएकाले चिन्ताको केन्द्र बनेको छ । २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले भनेका थिए, ‘यो साइटको आकार र संरचना शान्तिपूर्ण कार्यक्रमसँग मेल खान्न ।’
सार्वजनिक रूपमा उपलब्ध पुराना उपग्रह चित्रले २००४ देखि यस साइटमा निर्माण कार्य शुरू भएको देखाउँछ । आईएईएले भने २००२ मै निर्माण शुरू भएको देखिने चित्रहरू भएको बताएको छ ।
वाशिङ्टन डीसीस्थित ‘इन्स्टिच्युट फर साइन्स एन्ड इन्टरनेशनल सेक्युरिटीका प्रमुख डेभिड अलब्राइट भन्छन्, ‘फोर्डो त्यो समयमा शुरू भएको हो जुन समयमा इरानको ‘क्य्रास न्यूक्लियर वेपन प्रोग्राम’ सक्रिय थियो ।
इजरायली खुलासाहरू
२०१५ मा भएको ‘ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्शन सम्झौताले फोर्डोको खतरा न्यून बनाएको थियो । सम्झौताअनुसार इरानले फोर्डोबाट दुई–तिहाई सेंट्रिफ्युजहरू र सम्पूर्ण आणविक सामग्री हटाउनुपर्यो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा सम्झौता तोडेपछि त्यो प्रक्रिया उल्टियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले २०१८ मा ‘इरानको आणविक अभिलेख’ चोरेको भनिएको ५५,००० कागजातहरू सार्वजनिक गरे जसमा फोर्डोको नक्सा र लक्ष्य थियो, वर्षमा एक वा दुई परमाणु हतियार बनाउने गरी हतियार–स्तरको यूरेनियम उत्पादन । डेभिड अलब्राइट भन्छन्, ‘हामीले कुनै असंगति देखेनौं । सयौं हजारौं पृष्ठ छन्, कसैले पनि त्यो कल्पना गर्न सक्दैन ।’
शक्तिशाली बमबाट पनि सुरक्षित
पछिल्ला रिपोर्टहरू अनुसार फोर्डोमा २,७०० सेंट्रिफ्युज राखिएका छन् र हाल ६० प्रतिशतसम्म यूरेनियम संवर्धन भइरहेको छ । थिंक ट्याङ्कका अनुसार इरानले अहिलेको ६० प्रतिशत संवर्धित यूरेनियमलाई ३ हप्तामै नौओटा बम बनाउन सकिने हतियार–स्तरको यूरेनियममा रूपान्तरण गर्न सक्छ । त्यसैले यो साइट इजरायलको प्रमुख लक्ष्य बनेको छ । तर, यो नष्ट गर्नु कत्तिको सम्भव छ ?
इजरायलका लागि अमेरिकी राजदूत येचिएल लाइटरका अनुसार फोर्डोलाई नष्ट गर्न सक्ने बम अहिले अमेरिकासँग मात्र छ तर यो बम पनि फोर्डो पुग्न गहिराइभन्दा ३० मिटर कम मात्र पुग्न सक्छ । त्यो बम अमेरिकी बी–२ स्टेल्थ बमवर्षकबाट मात्र प्रहार गर्न सकिन्छ जुन इजरायलसँग छैन ।
सीएनएनका विश्लेषक तथा पूर्व अमेरिकी वायुसेना कर्णेल सेड्रिक लिटन भन्छन्, ‘म फोर्डोलाई नष्ट गर्न बारम्बार आक्रमण आवश्यक पर्छ भन्नेमा विश्वास गर्छु ।’ डेभिड अलब्राइट भन्छन्, ‘इजरायलले सुरुङको प्रवेशद्वार, हावासञ्चालन प्रणाली र बिजुली आपूर्ति प्रणाली नष्ट गर्न सक्छ । यसले साइटलाई महीनौंसम्म बन्द गर्न सक्छ ।’
तर, उनले थपे, ‘फोर्डो नष्ट गर्नु अन्तिम समाधान होइन । प्रश्न उठ्छ, बाँकी सेंट्रिफ्युजहरू कहाँ छन् ? कति छन् ? फोर्डो मात्रै होइन, अरू साइट पनि छन् ।’
(सीएनएनबाट)