काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरूको स्वामित्वमा भएको शेयर कम्पनीमा राजीनामापछि पनि १ वर्षसम्म विक्री गर्न नपाउने व्यवस्थाप्रति सरोकारवाला सरकारी निकायमा पुनः ध्यानाकर्षण गराएको छ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको शेयर खरीद–विक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक रहेको भन्दै संघले नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण लगायतलाई ध्यानाकर्षण गराएको हो ।
निर्जीवन बीमा व्यवसायी संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शेयर विक्रीसम्बन्धी व्यवस्था अत्यन्तै अव्यावहारिक रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सबै शेयरधनी जस्तै सञ्चालकहरू पनि लगानीकर्ता नै रहेको र शेयरधनीहरू साधारणसभाबाट निर्वाचित भई उनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा शेयर विक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौं ।’
नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका संघका अध्यक्ष राजेन्द्र मल्लले सञ्चालकहरूको शेयर १ वर्षसम्म विक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक भएकाले सो प्रावधान सच्याउनका लागि आग्रह गरिएको बताए । लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य शेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरूको वित्तीय स्वार्थमा कुनै फरक नरहेको उनको भनाइ छ ।
सञ्चालकहरूले अन्य शेयरधनीसरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरूलाई वञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ ।
कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति विक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरीदविक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत नियामक निकायलाई जानकारी दिई शेयर स्वामित्वको ५० प्रतिशतसम्म विक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं ।’
शेयर विक्रीसम्बन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानीसमेत प्रभावित हुने अध्यक्ष मल्लको भनाइ छ ।