तम्घास । देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका वेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेशामा छलाङ मारेका हुन् । खर्ज्याङको ४५ रोपनी जग्गामा उनले काँक्रा, लौका, तोरिया, फर्सी, खुर्सानीलगायत तरकारी लगाएका छन् । खुकुरापालनसँगै मासु व्यवसायसमेत गरेका भण्डारीको मुख्य उत्पादन काँक्रा हो ।
विसं २०७२ मा ‘घरेलु तथा साना उद्योग विकास कार्यालय’मा ‘पूर्णिमा कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरेर व्यवसाय शुरू गरेका भण्डारीले गत वर्षमात्रै रु ७ लाखको काँक्रा विक्री गरे । शुरूआती चरणमा थोरैथोरै उत्पादन गरे पनि अहिले व्यवसाय फस्टाएको भण्डारी बताउँछन् । “गतवर्ष २ हजार बोटमा फलेका काँक्राबाट रु ७ लाख आम्दानी भयो,” उहाँले भन्नुभयो, “यो वर्ष १० हजार बिरूवा लगाएको छु, उत्पादन भएका सबै काँक्रा विक्री हुँदा ३० लाख आम्दानी हुन्छ ।”
दुई वर्ष अगाडिसम्म काँक्राको मूल्य प्रतिकेजी ४० रूपैँयासम्म रहेको थियो । तर गत वर्ष मूल्य बढेर रु १४० सम्म पुग्यो । जसले गर्दा उनको आम्दानी पनि बढेको छ । गत वर्ष भएको आम्दानीबाट प्रेरित भएर यो वर्ष बिरूवा थपेको भण्डारीले बताए।
यो सिजनको लागि पनि काँक्रा तयार भइसकेका छन् । गत मङ्सिर ३० गते रोपेका काँक्रा चैत १० बाट विक्री शुरू भएका थिए । अहिलेको सिजनमा मात्रै उनले ३ सय क्विन्टल काँक्रा विक्री गरिसकेका छन् । अहिले फलेका काँक्रा सके अहिले नै सबै विक्री गर्ने, नभए पाकेका पहेँला काँक्रा दशैँ–तिहारको समयमा अचारको लागि विक्री गर्ने उनले बताए ।
दशैँ–तिहारमा पनि विक्री नभए बीउको लागि प्रयोग गर्ने भण्डारीको भनाइ छ । यो सिजनमा उनको एउटै बगैँचाबाट दैनिक १० क्विन्टलसम्म काँक्रा विक्री भइरहेको छ । भण्डारीले काँक्रासँगै बेमौसमी मकै उत्पादन, कुखुरापालन र दुई पोखरीमा मत्स्यपालन पनि गरेका छन् । उनले सबै व्यवसायबाट खर्च कटाउँदा पनि मासिक न्यूनतम १ लाख रुपैँया बचत हुने सुनाए ।
अहिलेको गर्मी मौसम भएकोले काँक्रो अत्यधिक विक्री भइरहेको छ । आगामी असारसम्म काँक्रो विक्री हुने सिजन छ । गर्मी सिजन शुरू भइसक्दा यसपटक बाहिरबाट जिल्लामा काँक्रो भित्रिसकेको छैन । जसले गर्दा बजारमा काँक्रोको माग अत्यधिक रहेको छ । काँक्रो खानाको साथसाथै विवाह, महोत्सव तथा पाठपूजाको समयमा पनि प्रयोग हुन्छ ।
भण्डारीले यसपटक ४ सय क्विन्टल काँक्रो उत्पादन गर्ने लक्ष्य लिएका छन् । उनले अहिले १ हजार बेमौसमी काँक्रोका थप बिरूवा लगाइसकेका छन् । उनको काँक्रा स्थानीय बजारका साथसाथै तम्घास, पाल्पा, बुटबल र काठमाडौँसम्म पुग्ने गरेको छ ।
उनलाई घरपरिवारको पनि पूर्ण साथ मिलेको छ । घर परिवारका ४ जनाबाहेक थप ४ जनालाई मासिक तलबमा रोजगारीसमेत दिएका छन् । पछिल्लो समयमा गाउँमा किसानलाई बाँदर, बदेँल, दुम्सी जस्ता वन्यजन्तुले बालीनालीमा हानिनोक्सानी गर्ने गरेका छन् । तर भण्डारी भने उक्त समस्या नभएको हुँदा कृषि उत्पादन गर्न सहज भएको बताउँछन् ।
भण्डारीको लोभलाग्दो कामले जिल्लामा युवा शक्तिबाट किसानलाई थप हौसला मिलेको छ । “गर्न सके गाउँमै थुप्रै सम्भावना छन्,” भण्डारीले भने ।
‘राज्यले टनेल दिए हुन्थ्यो’
काँक्रा विक्री गरेर आम्दानी लिन जति सजिलो छ, उत्तिकै मेहनत उत्पादन गर्न पनि छ । वर्षा धेरै हुँदा र विक्री नहुँदा उनले धेरै पटक घाटा पनि सहनुपर्यो । काँक्राको लागि टनेल आवश्यक पर्नेमा उनले भने खुल्ला चौरमा उत्पादन गर्दै आएका छन् ।
वडा कार्यालयमा धेरै पटक टनेलका लागि आवेदन दिए पनि सहयोग नपाएको भण्डारीले सुनाए । “थुप्रै पटक धाएँ, पाइनँ,” उनले भने, “अनुदानमा हाइटेक टनेल दिए मकै शतप्रतिशत, नभए ५० प्रतिशतसम्म उत्पादन अझ बढाउने थिएँ ।” टनेल नहुँदा वर्षाको कारणले गत वर्षमात्रै ५ क्विन्टल काँक्रा नोक्सान नभएको उनले बताए ।
७ लाखको काँक्रा विक्री गरिसकेपछि थप ५ क्विन्टल नोक्सान हुँदा धेरै मर्का नपरेको उनी बताउँछन् । “अब निरन्तर काँक्राखेती गर्ने हो, अरू पेशा सहायक हुन्,” भण्डारीले भने, “यसमा राज्यको तर्फबाट केही सहयोग भए आभारी हुने थिएँ ।” रासस