काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खर्च शीर्षक नै नतोकी अर्थ विविध अर्थात् अबण्डा शीर्षकमा रु ७८ अर्ब ३५ करोड ४३ लाख बराबरको रकम छुट्याएको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आज पेश भएको आगामी आवको बजेट वक्तव्यअनुसार कुल विनियोजित रकमको करिब ४ प्रतिशत रकम यसरी अर्थ विविधमा राखिएको हो ।
आगामी आवका लागि अर्थ विविध शीर्षकमा राखिएको रु ७८ अर्ब ३५ करोड ४३ लाख बजेटको स्रोतका रुपमा आन्तरिक र बाह्य ऋणलाई देखाइएको छ । जसमध्ये आन्तरिक ऋणबाट रु ७१ अर्ब २६ करोड ११ लाख र बाह्य ऋण बाट रु ७ अर्ब ९ करोड ३२ लाख बराबर स्रोत बेहोरिने बजेटमा उल्लेख छ ।
कुनै योजना तथा कार्यक्रम नखुलाईकन ठूलो रकम बजेटमा राख्दा वित्तीय अनुशासन पालना हुन नसक्ने र तजबिजी खर्च बढ्ने भन्दै महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष समस्या औंल्याउँदै आएको छ तर पनि सरकारले अबण्डा शीर्षकमा ठूलो रकम राख्ने परिपाटी हटाउन सकेको छैन । रासस