म नेपालको राजधानीमा हुर्किएँ, जहाँबाट हिमालयका मनोरम दृश्य देख्न पाइन्थ्यो । जब म नेपालबाट बाहिरिन्छु, तब पृथ्वीका उच्चतम हिमालहरूको विशाल पानोरमिक दृश्य सम्झेर मनमनै हराइरहन्छु ।
हरेकपटक म काठमाडौं आउँदा ती भव्य हिमशृंखला देख्न पाउने आशा गर्छु तर अहिले त्यो सम्भावना निकै न्यून छ । यसको मुख्य कारण होः यस क्षेत्रमा फैलिएको गम्भीर वायुप्रदूषण जसले आकाशमा बाक्लो कुहिरो बनाउँछ । यो समस्या अहिले वसन्त र शरद्ऋतुमा पनि देखिन थालेको छ, जुन केही अघिसम्म सफा आकाश देखिने मौसम मानिन्थ्यो । गत अप्रिलमा मैले चढेको अन्तरराष्ट्रिय विमान काठमाडौं विमानस्थलमा अवतरण गर्नुअघि लगभग २० पटक आकाशमै घुम्यो किनभने कुहिरोका कारण दृश्यता ज्यादै कम थियो । म बस्न गएको होटेल त्यस्तो स्थानमा थियो जहाँबाट सामान्यतया स्पष्ट मौसममा हिमालहरू देखिन्छन् तर २ हप्ताको बसाइभरि मैले हिमाल देख्न पाइनँ ।
काठमाडौं बाहिरको प्रसिद्ध पर्यटकीय थलो नगरकोट जहाँबाट सामान्यतया हिमालय देखिन्छ । त्यहाँबाट हेर्दा कुहिरोले सबै ढाकिएको देखियो । त्यहाँ हिमाल नै नभएजस्तो देखिन्थ्यो । ‘पहिलेजस्तै ‘सूर्योदय, सूर्यास्त र हिमाल’ को दृश्य भनेर अब मैले नगरकोटलाई चिनाउन छोडिसकेको छु,’ १९९६ देखि नगरकोटमा होटेल सञ्चालन गर्दै आएका योगेन्द्र शाक्य भन्छन्, ‘अब त्यस्ता दृश्य प्रायः सम्भव हुँदैन । त्यसैले मैले नगरकोटलाई अब इतिहास र संस्कृतिको हिसाबले ब्रान्डिङ गर्न थालेको छु, किनभने ती पनि यहाँका पर्यटकीय सम्पदा हुन् ।’
गतवर्षको एउटा यात्रामा मैले अन्नपूर्ण क्षेत्रमा ट्रेक गर्दा हिमालय देख्ने ठूलो आशा राखेको थिएँ तर त्यहाँ पनि नाममात्रको हिमाल देख्न पाएँ । वैज्ञानिकहरू भन्छन्, ‘यस क्षेत्रको कुहिरो अहिले झन् बाक्लिँदै गइरहेको छ, लामो समयसम्म टिकिरहन्छ, जसले दृश्यता उल्लेखनीय रूपमा घटाउँछ ।’ कुहिरो धूलो, धूवाँ र आगलागीका कण मिलेर बन्ने प्रदूषक तत्त्वहरूले बनेको हुन्छ, जसले दृश्यता ५,००० मिटरभन्दा कम बनाउँछ । यो खासगरी सुक्खा मौसममा आकाशमै अड्किरहन्छ । अहिले जलवायु परिवर्तनका कारण सुख्खा मौसम झनै लम्बिएको छ । जुनदेखि सेप्टेम्बरसम्म वर्षायाम हुन्छ, जहाँ बादलका कारण होइन, कुहिरोका कारण हिमाल लुकेर बस्छन् ।
परम्परागत रूपमा मार्चदेखि मे र अक्टोबरदेखि नोभेम्बरसम्मको मौसम पर्यटन व्यापारका लागि उत्कृष्ट मानिन्थ्यो, आकाश खुला हुन्थ्यो र दृश्यता राम्रो हुन्थ्यो । तर, अहिले तापक्रम बढ्दै गएको छ, वर्षा कम हुँदै गएको छ र वायुप्रदूषण झन् गहिरिँदै गएको छ । वसन्तऋतुमा समेत बाक्लो कुहिरो देखिन्छ । अब त यो अवस्था डिसेम्बरमै शुरू हुन थालेको छ ।
‘हिमाल नदेखिए व्यापारै छैन’
भारततर्पm मध्य हिमालय नजिकका क्षेत्रहरूमा होटेल व्यवसायी र टुर अपरेटरहरू भन्छन्, ‘अब कुहिरो झन् गहिरो हुन्छ ।’ ‘अब लामो समयसम्म सुक्खा मौसम हुन्छ र अचानक भारी वर्षा, जुन अघिपछिको जस्तो नियमित हुँदैन । त्यसैले झन् कम वर्षाका कारण कुहिरो धेरै दिनसम्म रहिरहन्छ,’ उत्तराखण्डमा सामुदायिक पर्यटन सञ्चालन गर्दै आएकी मलिका विर्दी भन्छिन् । विर्दी भन्छिन्, पर्यटकहरू हिम्मत हार्दैनन् कसैले हिमाल नदेखे पनि दोहोर्याएर फेरि आउँछन् । पाकिस्तानको पश्चिमी हिमालय क्षेत्रमा कुहिरोको प्रभाव तुलनात्मक रूपमा कम छ किनभने हिमालहरू शहरहरूबाट टाढा छन् । तर, स्थानीयहरू भन्छन् पहिले पेशावर वा गिलगिटबाट सजिलै देखिने हिमशृंखलाहरू अब सामान्यतया देखिँदैनन् । ‘एक प्रकारको कुहिरोको चादर आकाशमै लामो समयसम्म रहन्छ र हामीले अघिपछि देख्ने गरेका हिमालहरू अब देख्दैनौं,’ पाकिस्तानको वातावरण संरक्षण निकायका पूर्वप्रमुख आसिफ शुजा भन्छन् ।
कुहिरो र धूलोका आँधी बढ्दो क्रममा
दक्षिण एशियाका शहरहरू प्रायः विश्वका सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा पर्छन् । यस विषाक्त हावाले जनस्वास्थ्यमा गम्भीर असर पार्ने गरेको छ । यसले यात्रा अवरोध, विद्यालय बन्दजस्ता असरहरू पनि पुर्याएको छ ।
सवारीसाधन र उद्योगबाट उत्सर्जन हुने धूवाँ, पूर्वाधार निर्माण र कच्ची सडकबाट उड्ने धूलो, फोहोर जलाउने काम आदि प्रदूषणका प्रमुख स्रोत हुन् । यसमा डढेलोको कालो धूँवा पनि कारण हो । जलवायु परिवर्तनका कारण लम्बिएको सुक्खा मौसमका कारण डढेलो बढिरहेको छ । साथै, भारत, पाकिस्तान र नेपालका किसानहरूले खेतीपछि पराल जलाउँदा पनि थप प्रदूषण फैलिएको छ ।
तापक्रमीय उल्टोका कारण तातो हावा चिसो हावाभन्दा माथि रहन्छ, जसले प्रदूषक तत्त्वहरूलाई तल थुनिराख्छ र वायुमण्डलीय चक्र अवरुद्ध हुन्छ, जसले प्रदूषण हट्न दिँदैन । ‘दक्षिण एशियामा कुहिरो र धूलोका आँधीहरू बढ्दै गएका छन् र यो प्रवृत्ति जलवायु परिवर्तन तथा अन्य कारणले भविष्यमा पनि जारी रहनेछ,’ दक्षिण एशिया मौसम विज्ञान संघका डा. सोमेश्वर दास भन्छन् ।
२०२४ मा पोखरा विमानस्थलमा १६८ दिन कुहिरो लागेका तथ्यांक नेपालको जल तथा मौसम विभागले सार्वजनिक गरेको छ । यो संख्या २०२० मा २३ मात्र थियो, २०२१ मा ८४ थियो ।
अब हिमालय तस्वीरमै सीमित हुने हो ?
विज्ञहरू भन्छन्, ‘जनघनत्व र प्रदूषणले भरिएको क्षेत्रमा रहेको हुनाले हिमालय सम्भवतः विश्वमै सबैभन्दा बढी प्रभावित हिमशृंखला हो ।’ यसको अर्थ हिमालयको अद्भुत दृश्य अब सम्भवतः तस्वीर, चित्र वा पोस्टकार्डमै सीमित हुनेछ । ‘हामीले पर्यटकलाई देखाउन सक्ने हिमालहरू नदेखाउँदा अपराधबोधसहित व्यापार गर्नु परेको अवस्था छ,’ ट्रेकिङ गाइड लक्की क्षेत्री भन्छिन् ।
‘गतवर्ष एकपटक हामीलाई ट्रेकिङ गाइडले हिमालय नदेखाउन सकेको कारण पर्यटक समूहलाई क्षतिपूर्ति दिनुप¥यो ।’ १९८६ देखि दर्जनौंपटक नेपाल भ्रमण गरिसकेका एक अस्ट्रेलियाली पर्यटक जोन क्यारोल भन्छन्, ‘हिमाल नदेख्नु भनेको ठूलो निराशा हो ।’ ‘१० वर्षअघि यस्तो थिएन । तर, अहिले कुहिरोले सबैकुरा ढाकेको छ र हामीजस्ता पर्यटक अत्यन्त निराश छौं ।’
गण्डकी प्रदेशको ट्रेकिङ एजेन्ट संघका प्रादेशिक अध्यक्ष कृष्ण आचार्य भन्छन्, ‘हाम्रो ट्रेकिङ उद्योग गहिरो संकटमा छ । हाम्रा सदस्य ट्रेकिङ अपरेटरहरू निराश छन् । हिमाल देखिएन भने व्यापार छैन । धेरैजसोले त पेशा परिवर्तन गर्ने विचार गरिरहेका छन् ।’
(बीबीसीबाट)