काठमाडौं । बचतकर्ताको साढे दुई अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरी फरार कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहिया नाकाबाट शनिवार पक्राउ गरिएको हो ।
उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा अनुसन्धानसमेत भइरहेको प्रहरीले जानकारी दिएको छ । उनलाई बाँके जिल्ला अदालत लैजाने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।
गत पुसमा नेपाल राष्ट्र बैंकले सो बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएपछि उनी फरार थिए । त्यसयता उनी नेपाल र भारत ओहोरदोहोर गरिरहेका थिए ।
खराब कर्जा झन्डै ५० प्रतिशत पुगेको र निक्षेपको दायित्व भुक्तानी गर्न नसक्ने अवस्था देखिएको भन्दै राष्ट्र बैंकले सो बैंकलाई समस्याग्रस्त घोषणा गरी बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि सो बैंकमा देखिएको समस्याबारे अनुसन्धान थालिएको थियो ।
उनले नक्कली ऋणी बनाएर बैंकको रकम हिनामिना गरेको देखिएको प्रहरी उपरीक्षक खड्काको भनाइ छ ।