भेडेटार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको पर्यटन क्षेत्रमा लगानीका गर्न आग्रह गरेका छन् । आज भेडेटारस्थित स्काइवाक अवलोकनपछि उनले निर्माण कम्पनी वन्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्रयाक्सन्स प्रालिलाई कर्णाली प्रदेशमा पनि साहसिक पर्यटनको ठूलो सम्भावना भएको उल्लेख गर्दै लगानी गर्न आग्रह गरे ।
“आज यहाँको स्काइवाकमा अवलोकन गर्न पाउँदा निकै खुशी लागेको छ, म चाहन्छु, निर्माण कम्पनीले कर्णाली प्रदेशको पर्यटन विकासका लागि लगानी गर्नुहोस्, यसका लागि प्रदेश सरकार सहजीकरणका लागि तयार छ”, उनले भने । उनले स्काइवाकमा हिँड्दा डरसँगै खुशी अनुभव भएको प्रतिक्रियासमेत दिए ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–४ र धरान उपमहानगरपालिका–६ को संगमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा रु २० करोडमा स्काइवाक निर्माण गरिएको हो । स्काइवाक निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढेको स्काइवाक भेडेटारका निर्देशन सुनिल भुसालले बताए ।
स्काइवाकबाट भेडेघाट र बजार, धरानदेखि इटहरीसम्मको मनोरम दृश्य तथा चारकोसे झाडी, सानो पाथीभरा मन्दिर साँगुरीगढीलगायतको दृश्यावलोकन गर्न सकिन्छ । स्काइवाकको अनुभव लिन प्रतिव्यक्ति रु ५०० शुल्क तोकिएको छ ।
स्काइवाकमा ३३ मिमि सिसाको प्रयोग गरिएको छ भने परियोजनामार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब १०० जनाले रोजगारी पाएका छन् । यहाँ स्वदेशीसँगै भारतीय र बंगलादेशी पर्यटक आउने गरेका छन् ।
त्यस अवसरमा नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, एमाले नेता विशाल भट्टराई, यज्ञराज सुनुवार, कोशी प्रदेशसभा सदस्य निरन राईलगायतको उपस्थिति थियो ।