काठमाडौं । २०८१ चैतमा मात्र १ खर्ब ५१ करोड २२ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ ।
बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको मासिक तथ्याङ्कलाई हेर्दा २०८० चैतको तुलनामा गत महीनाको कुल कारोबार रकम ७५ दशमलव ६५ प्रतिशतले बढी हाे ।
२०८० चैतमा ५७ अर्ब २२ करोड ४१ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको नेप्सेको तथ्याङ्कले देखाउँछ ।
समग्रमा कुल कारोबार रकम बढे पनि ६ समूहको कारोबार रकम भने गत वर्षको तुलनामा घटेको छ । उत्पादन तथा प्रशोधन समूहको कारोबार रकम सर्वाधिक ५३ प्रतिशतले घट्दा संस्थापक शेयर करीब ५३ प्रतिशत, वित्त कम्पनीको करीब ४७ प्रतिशत, ऋणपत्रको करीब ३३ प्रतिशत, लघुवित्तको करीब २७ प्रतिशत र होटल तथा पर्यटनको ६ दशमलव ७३ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्ष (आव)को चैतमा उत्पादन तथा प्रशोधन समूह अन्तर्गतका कम्पनीको ७ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा यो आवको चैतमा भने ३ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको नेप्सेको भनाइ छ ।
लगानी समूहको शेयरमा भने लगानीकर्ताको आकर्षण देखिन्छ । यस आवको चैतमा लगानी समूहका कम्पनीहरूको १२ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । गत आवकाे चैतमा लगानी समूहको १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।
गत आवभन्दा यस आवमा लगानी समूहको कारोबार रकम करीब ६२२ प्रतिशत बढेको छ ।
रकमका हिसाबमा भने जलविद्युत कम्पनीले पहिलो नम्बरको स्थान कायम गरेका छन् । यस आवको चैतमा जलविद्युत कम्पनीहरूको सर्वाधिक ३२ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको हो । गत आवको चैतमा जलविद्युत समूहको १५ अर्ब २ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।
पछिल्लो समय लगानीकर्ताको आकर्षण ठूला पूँजी भएका कम्पनीको भन्दा साना पूँजी भएका कम्पनीको शेयरमा देखिएको छ । बजारमा उतारचढाव कायम रहँदा जलविद्युत क्षेत्रका कम्पनीको शेयर कारोबार बढेको छ ।
हाल दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये जलविद्युत कम्पनीको संख्या सबैभन्दा बढी छ । २४८ कम्पनी सूचीकृत रहेकोमा ९१ जलविद्युत कम्पनी छन् ।
समग्र धितोपत्र बजार गत आवको चैतको तुलनामा यस आवको चैतमा ३१ दशमलव ४१ प्रतिशत बढेको देखिन्छ । गत आवको चैत मसान्तसम्म २ हजार २५ दशमलव ७१ विन्दुमा रहेको नेप्से परिसूचक यस आवको चैत मसान्तसम्म २ हजार ६६२ दशमलव शून्य ८ विन्दुमा कायम थियो ।
पछिल्लो कारोबार (वैशाख १७ गते) दिनमा भने नेप्से परिसूचक २ हजार ६२३ दशमलव ८३ विन्दुमा बन्द भएको छ ।