विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रवार (आज) सम्पन्न भएको छ ।
सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरको परियोजनामा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । यो प्रदेश सरकारले शोकेस गरेका कुल योजनाको करीब ८७.७ प्रतिशत लक्ष्य प्राप्ति हो । सम्मेलनमा प्रदेश सरकारले विभिन्न ८ क्षेत्रका १ खर्ब ७३ अर्ब ४९ करोडका ७१ योजना शोकेस गरेको थियो ।
शुक्रवार भएको एमओयूमा कोदोको लोकल रक्सी ब्राण्डिङदेखि पोड वे सम्मका योजना छन् । ९ करोडदेखि अधिकतम ३२ अर्ब सम्मका योजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा सम्पन्न समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र विभिन्न लगानीकर्ताबीच एमओयूमा हस्ताक्षर गरिएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कुल ४६ ओटा परियोजनामा सम्झौता भएको छ, जसमा निजी क्षेत्रका १९ र सार्वजनिक–निजी साझेदारी (पीपीपी) का २७ परियोजना छन् ।
समापन समारोहमा मुख्यमन्त्री कार्कीले सम्मेलनलाई ऐतिहासिक र सफल बताउँदै अबको प्राथमिकता लगानी कार्यान्वयनमा केन्द्रित हुने बताए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले सरकार कानुनी सुधार गर्दै लगानीमैत्री वातावरण निर्माणतर्फ अघि बढेको जानकारी दिए ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले कानुन संशोधन गाह्रो नभएको र राजनीतिक इच्छाशक्ति भए तुरुन्त संशोधन सम्भव हुने बताए ।
प्रदेश सभाका सभामुख अमरबहादुर बिष्ट, भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री उपेन्द्र राई, चिनियाँ लगानीकर्ता लियाङ झुङ, गैरआवासी नेपाली लगानीकर्ता रेजिना राई प्रधान र अन्यले कोशी प्रदेशमा लगानीका राम्रो सम्भावना रहेको भन्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरे ।
सम्मेलन गत बिहीवार शुरु भएको थियो ।
कुन क्षेत्रमा कतिको एमओयू ?
कृषि क्षेत्रका ८ परियोजनामा ३ अर्ब रुपैयाँ
ऊर्जा क्षेत्रका ३ परियोजनामा ८ अर्ब ६२ करोड रुपैयाँ
उद्योग क्षेत्रका १२ परियोजनामा ६६ अर्ब ८७ करोड रुपैयाँ
पूर्वाधार विकासका ९ परियोजनामा ३८ अर्ब ४१ करोड रुपैयाँ
सूचना प्रविधिका २ परियोजनामा ४७ करोड रुपैयाँ
पर्यटनका १० परियोजनामा ३४ अर्ब १९ करोड रुपैयाँ
फोहरमैला व्यवस्थापनमा ६० करोड रुपैयाँ