काठमाडौं । कृषि विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९७ दशमलव २२ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब ४ करोड नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. २ अर्ब ५ करोड पुगेको छ । चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा ८४ दशमलव ४७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १५ दशमलव ३१ प्रतिशत वृद्धि भएको हो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९० पैसा रहेकोमा चालू आवमा बढेर १७ रुपैयाँ ९३ पैसा पुगेको हो ।
त्यस्तै कम्पनीको निष्किृय कर्जा पनि घटेको छ । गत आवमा निष्क्रिय कर्जा ४ दशमलव २० प्रतिशत रहेकोमा चालू आवमा घटेर ३ दशमलव ३० प्रतिशत पुगेको हो ।
चुक्ता पूँजी रू.१८ अर्ब ८८ करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. १५ अर्ब ६४ करोड र रिटेन्ड अर्निङमा रू.१ अर्ब १२ करोड सञ्चिती गरेको छ । सो अवाधिमा कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब १२ करोड भन्दा बढी रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २२२ दशमलव ८५ र तरलता अनुपातमा ३४ दशमलव ०२ प्रतिशत रहेको छ ।