काठमाडौं । लुभ्र होटल्स ग्रुपअन्तर्गतको अग्रणी होटल व्यवस्थापन कम्पनी सारोवर होटल्सले रोयल ट्युलिप काठमाडौं सञ्चालनमा ल्याएको छ । ललितपुरको ग्वार्कोमा अवस्थित यो होटल नेपालकै सबैभन्दा ठूलो र काठमाडौंकै सबैभन्दा ठूलो सम्मेलन स्थल सहितको रहेको दाबी गरिएको छ ।
द मासिफ होटल प्रालिद्वारा विकास गरिएको यो ऐतिहासिक परियोजनाले अन्तरराष्ट्रियस्तरमा मान्यता प्राप्त रोयल ट्युलिप ब्रान्डलाई काठमाडौंमा भित्र्याइएको बताइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मात्र साढे ३ किलोमिटर टाढा रहेको यो होटलका ३०८ कोठा तथा सुइटहरू रहेको बताइएको छ । यो होटलले आधुनिक आवास, उत्कृष्ट सुविधा र सहज अतिथि अनुभव प्रदान गर्ने होटलको भनाइ छ ।
होटलमा ३० हजार वर्गफुटभन्दा बढीको बहुउद्देश्यीय कार्यक्रमस्थलमा करीब ११ हजार वर्गफुटका दुईओटा भव्य बैंक्वेट हल, ६ ओटा अतिरिक्त बैठक कोठा, ब्रेकआउट क्षेत्र र ८०० वर्गफुटको बोर्डरूमदेखि विशाल बलरूमसम्मका सुविधाहरू रहेको बताइएको छ । साथै ६०० गाडी अट्ने पार्किङ क्षमतासमेत रहेको यो होटल अन्तरराष्ट्रिय सम्मेलन, कूटनीतिक कार्यक्रम, डेस्टिनेशन वेडिङ, प्रदर्शनी तथा ठूला कर्पोरेट कार्यक्रम आयोजना गर्न उपयुक्त रहेको बताइएको छ ।
होटलले प्रारम्भिक चरणमा १०४ कोठासहित सञ्चालन प्रारम्भ गरेको बताइएको छ र ‘ललितपुर क्याफे’ तथा ‘द अल्पाइन लाउन्ज एण्ड बार’ गरी दुई उत्कृष्ट रेस्टुराँ पनि सञ्चालनमा ल्याइएको छ ।