काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टीन हिरो नेपाल २०२५’ को ११औं संस्करणका लागि आजबाट आवेदन खुला गरिएको छ।
ग्लोकल प्रालिको आयोजनामा हुन लागेको उक्त कार्यक्रमका लागि समाज, समुदाय वा कुनै विशेष क्षेत्रमा उल्लेखनीय र प्रभावकारी कार्य गर्ने देशभरका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीले आवेदन दिन सक्नेछन् । आवेदनको समयसीमा आगामी साउन १४ (जुलाई ३०) गतेसम्म तोकिएको छ ।
किशोरकिशोरीहरूको सशक्तीकरणका लागि उक्त कार्यक्रम आयोजना गर्ने गरिएको कम्पनीले जनाएको छ ।
आवेदन दिएका सहभागीहरूको छनोट प्रक्रियामार्फत शीर्ष २० प्रतिस्पर्धी छनोट गरिनेट । त्यसपछि शीर्ष ६ फाइनलिस्ट चयन गरिनेछन्, जसले ‘ग्लोकल टीन हिरो नेपाल २०२५’ को अन्तिम चरणमा भाग लिने अवसर पाउनेछन् । तीमध्येबाट प्रतियोगीहरूको दूरदृष्टि आचरण र कार्यको दिगोपनाको आधारमा अन्तिम मूल्यांकन गरिने कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रमअन्तर्गत देशभरका ६० भन्दा बढी शहरमा पुग्ने र किशोरकिशोरीहरूसँग अन्तरक्रिया गर्ने कम्पनीको योजना छ ।
सन् २०१५ मा काठमाडौंबाट शुरु भएको यो कार्यक्रम सन् २०१६ मा देशभर विस्तार गरिएको थियो ।
त्यसपछि यसको पहुँच दक्षिण एसियामा विस्तार गर्न लक्ष्यका साथ सन् २०१९ २०२० र २०२२ मा भारत श्रीलंका र बंगलादेशमा पनि ग्लोकन टिन हिरो कार्यक्रम आयोजना गरिएको थियो ।