काठमाडौं । महिलालाई व्यवसायमा सशक्त बनाउन संरचनात्मक सुधार, समावेशी नीति र सांस्कृतिक परिवर्तनको आवश्यक औंल्याइएको छ ।
न्यू बिजनेश एज लिमिटेडले आयोजना गरेको पाँचौं संस्करणको ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् – २०२५’ कार्यक्रमअन्तर्गत भएको प्यानल छलफलमा विभिन्न क्षेत्रका विज्ञहरूले उक्त धारणा राखेका हुन् ।
कार्यक्रमअन्तर्गत ‘व्यवसायमा महिलाको भूमिका पुनः परिभाषित गर्ने (रिडिफाइनिङ वुमन्स् रोल इन बिजनेश)’ विषयमा भइरहेको प्यानल छलफल भएको थियो, जसमा वक्ताको रूपमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, कटन मिल नेपालकी सह–संस्थापक प्रशन्ना बस्नेत, कोड रसका प्रबन्ध निर्देशक आस्था शर्मा रहेका थिए ।
प्यानल छलफलमा कस्मिक इलेष्ट्रिकल लिमिटेडका संस्थापक तथा प्रबन्ध निर्देशक महेश महतोले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
छलफलमा सहभागी विज्ञ र उद्यमीहरूले वित्तीय पहुँच, गुणस्तरीय शिक्षा, समावेशी कार्यस्थल र मार्गदर्शनमार्फत महिलाको भूमिकालाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिए ।
औपचारिक अर्थतन्त्र अझै टाढा : डा. प्रकाश कुमार श्रेष्ठ
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले नेपालको औपचारिक अर्थतन्त्रमा महिलाको सहभागिताको विश्लेषणात्मक समीक्षा प्रस्तुत गरे।
उनले महिलाको समग्र श्रमशक्ति सहभागिता बढेको सकारात्मक संकेत देखिए तापनि औपचारिक रोजगारीमा महिलाको सहभागिता केवल १३% मा सीमित रहेको बताए । पुरुषको सहभागिता ५४% छ भने महिलाको २८% मात्र रहेको उनले जानकारी दिए ।
डा. श्रेष्ठले महिलाको औसत पारिश्रमिक पुरुषभन्दा ३४% कम रहेको तथ्य र व्यवसायिक स्वामित्वमा महिलाको भाग केवल ३४% रहेको उल्लेख गरे । चीन (६०%) र अमेरिका (५७%) को तुलनामा नेपाल पछि परेको भए पनि भारत (२५%) भन्दा अगाडि रहेको तथ्य उनले प्रस्तुत गरे।
उनले एसईईमा केटीहरू असफल हुने दर उच्च हुनु शिक्षाको गुणस्तरमा समस्याको संकेत रहेको बताए । लैङ्गिक खाडल हटाउन वित्तीय पहुँच र युवतीहरूको शिक्षालाई सुदृढ गर्न अत्यावश्यक रहेको भन्दै उनले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक औंल्याए ।
'समय : महिला उद्यमीका लागि अदृश्य अवरोध'
कटन मिल नेपालकी सह–संस्थापक उद्यमी प्रसन्ना बस्नेतले महिलाहरूले व्यवसाय सञ्चालनका क्रममा भोग्ने समयको अभावको विषयमा व्यक्तिगत अनुभव बाँडिन् ।
उनका अनुसार पुरुष र महिलाले समान व्यवसायिक चुनौती सामना गरे पनि महिलाले घरेलु जिम्मेवारीको अतिरिक्त बोझ पनि वहन गर्नुपर्छ, जसले व्यवसायिक समय घटाउँछ । ‘मैले मेरो व्यवसायका लागि दैनिक सात घण्टा छुट्याउँछु, तर त्योबाहेक अन्य केही गर्न सक्ने समय हुँदैन– जबकि पुरुष साथीहरूले त्यो समस्या भोग्दैनन्,’ उनले भनिन् ।
संस्थागत समर्थन मात्र होइन, सांस्कृतिक र पारिवारिक सोचमा पनि परिवर्तन आवश्यक रहेको उनको जोड थियो ।
समावेशी कार्यस्थलले रूढीवादी सोच तोडिनेछ : आस्था शर्मा
टेक कम्पनी ‘कोड रश’की प्रबन्ध निर्देशक आस्था शर्माले प्रविधि क्षेत्रमा लैङ्गिक रूढीवादसँग जुझ्ने आफ्ना अनुभव बाँडिन्।
उनले अघिल्ला कार्यस्थलहरूमा आफूलाई भान्साको व्यवस्थापनजस्ता लिङ्ग विशेष जिम्मेवारी दिइने गरेको र त्यसले फरक कार्यस्थल निर्माण गर्न प्रेरणा दिएको बताइन् ।
‘कोड रशमा हामी सोचाइ परिवर्तनबाट शुरु गर्छौं,’ उनले भनिन् । साथै उनले समावेशी विषयमा नियमित छलफल र अभिमुखीकरणको प्रक्रिया अपनाइएको बताइन् ।
उनले कम्पनीले महिलाहरूलाई पेशागत चुनौतीहरू समाधान गर्न एकदिनेदेखि महिनाव्यापी ‘मेन्टोरशिप’ कार्यक्रम चलाउँदै आएको जानकारी दिइन् ।
उनले समावेशितालाई व्यवसायिक सफलतासँग जोड्दै आफ्नो कम्पनीले सामाजिक उत्तरदायित्वसँगै दिगोपन अपनाउँदै आएको—पानी पुनःप्रयोग, न्यून रासायनिक प्रयोग र स्थानीय महिलालाई तालिम दिने कार्यहरूको उदाहरण दिइन् ।
'लाभभन्दा उद्देश्य : मूल्यमा आधारित व्यवसायको आह्वान'
प्यानलका सञ्चालक र कोस्मिक इलेक्ट्रिकल लिमिटेडका संस्थापक तथा प्रबन्ध निर्देशक महेश महतोले छलफललाई समेट्दै व्यवसायमा नैतिकता र सामाजिक उत्तरदायित्वको महत्त्वमा जोड दिए । ‘नैतिकता वा समुदायप्रतिको योगदानबिनाको व्यवसायको कुनै अर्थ छैन,’ उनले भने।
महतोले नेपाली व्यवसायहरूमा रहेको प्रणालीगत समस्याहरू, जस्तै ः आयातमा निर्भरता, दक्ष जनशक्तिको अभाव, सीमित स्रोत—प्रति संकेत गर्दै व्यवसायीहरूलाई उद्देश्यमा आधारित सोच अपनाउन र ‘मेन्टोरशिप’ संस्कृतिलाई प्रोत्साहन गर्न आग्रह गरे ।
प्यानलका सबै वक्ताहरूले नेपालको लैङ्गिक खाडल अन्त्य गर्न केवल प्रतीकात्मक सुधार पर्याप्त नहुने बताएका छन् । यसका लागि समयको अभाव, गुणस्तरीय शिक्षा, कार्यसंस्कृति पुनःनिर्माण र वित्तीय पहुँच विस्तारजस्ता मुद्दामा प्रणालीगत परिवर्तन अपरिहार्य रहेको उनीहरूको भनाइ छ । उनीहरूले सरकार र निजी क्षेत्र मिलेर महिलालाई समावेश गराउने मात्र नभई सशक्त बनाउने दिशामा सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए ।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र न्यू बिजनेश एज लिमिटेडका अध्यक्ष मदन लम्सालले संयुक्तरूपमा पानसमा दीप प्रज्जवलन गरेर उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रभु बैंकको मुख्य प्रायोजनमा हुन लागेको उक्त समारोहमा महिला उद्यमीलाई सम्मान गरिनेछ । सो समारोहमा ‘व्यवसायमा महिलाको भूमिका पुनः परिभाषित गर्ने (रिडिफाइनिङ वुमन्स् रोल इन बिजनेश)’ विषयमा रहेर विज्ञहरूबाट प्यानल छलफलसमेत गर्ने कार्यतालिका छ ।
प्यानल छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, कटन मिल नेपालकी सह–संस्थापक प्रशन्ना बस्नेत, कोड रसका प्रबन्ध निर्देशक आस्था शर्मा भाग लिने कार्यक्रम छ । प्यानल छलफलको सहजकर्तामा कस्मिक इलेष्ट्रिकल लिमिटेडका संस्थापक तथा प्रबन्ध निर्देशक महेश महतो छन् ।
कार्यक्रममा विशेष अतिथिका रूपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत रहनेछन् ।
आयोजकका अनुसार यो वर्ष पनि उत्कृष्ट महिला उद्यमीसहित विभिन्न ६ विधामा करीब १५ महिला उद्यमीलाई सम्मान गरिनेछ ।
यसमा सातओटै प्रदेशबाट एक/एक जना महिला उद्यमीलाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन’का रूपमा सम्मान गरिनेछ । उनीहरूलाई जनही रू. ५१ हजार नगद पुरस्कार पनि दिइनेछ ।
आयोजक संस्थाका अनुसार अन्य विधामा प्रविधिमा महिला (वुमन इन टेक), व्यवसायी महिला (प्रोफेशनल वुमन), युवा महिला व्यवसायी (युथ वुमन आन्त्रप्रेनर), प्रेरणादायी महिला उद्यमी (ईन्स्पाईरिङ्ग वुमन आन्त्रप्रेनर) र उत्कृष्ट महिला उद्यमी (बेस्ट वुमन आन्त्रप्रेनर) लगायत छन् ।
महिला उद्यमको क्षेत्रमा लामो समयदेखि लागेको र योगदान गरेको एकजना महिला उद्यमीलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने आयोजकले जनाएको छ ।
सम्मानित हुन लागेका उद्यमी छनोटका लागि एक स्वतन्त्र निर्णायक मण्डल बनाइएको थियो । उद्यममा सक्रिय रहेका देशभरका २ हजारभन्दा बढी महिला मध्येबाट विभिन्न मापदण्ड तयार गरेर विभिन्न चरणमा सर्टलिस्टिङ गरिएको थियो ।
अवार्ड छनोटमा विभिन्न मापदण्ड तय गरिएको आयोजकले जानकारी दिएको छ, जसमा नियमहरूको पालना, सामाजिक प्रभाव/अर्थतन्त्रमा योगदान, पृष्ठभूमि र सार्वजनिक छवि र नवप्रवर्तन र प्रविधिको प्रयोग आदि छन् ।
कार्यक्रममा अन्य विभिन्न कम्पनीहरूको पनि साथ रहेको छ । अन्य प्रायोजकहरूमध्ये ‘ड्रिभन बाई’ पार्टनरको रुपमा टाटाको कर्भ ईभी छ भने लाइफ इन्स्योरेन्स पार्टनरमा नेशनल लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड रहेका छन् ।
अन्य सहयोगी संस्थामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, सिटिजन लाइफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, एभरेस्ट बैंक, एनएलजी इन्स्योरेन्स, नबिल बैंक, सीताराम गोकुल मिल्क, कृषि विकास बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सिटी एक्सप्रेस मनी ट्रान्सफर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) छन् ।
आयोजक संस्थाका अनुसार उद्यमशीलतामा सक्रिय भएर लागेका महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न र उनीहरूले यो क्षेत्रमा दिएको योगदानको कदर गर्ने उद्देश्यले न्यू बिजनेश एजले सन् २०२१ देखि हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण (लाइभ) आर्थिक अभियान र न्यू बिजनेश एजको फेसबुक पेज र युटुब च्यानलबाट भइरहेको छ ।