काठमाडौं । युनियन हाइड्रोपावरद्वारा प्रवर्द्धित मिदिमखोला (करापु) जलविद्युत् आयोजनाले विद्युत् उत्पादन र प्राथमिक शेयर निष्कासन सँगसँगै गर्ने भएको छ ।
युनियन हाइड्रोपावरकी सचिव प्रतिमा शाहका अनुसार मिदिम कोरिडोरमा निर्माणाधीन ३ मेगावाट क्षमताको मिदिमखोला जलविद्युत् आयोजनाले २०७४ साउनदेखि विद्युत् उत्पादन थाल्ने भएको छ । विद्युत् उत्पादन हुने १ महीनाअगाडि अर्थात् आगामी असारमा प्राथमिक शेयर निष्कासन गर्ने तयारी युनियन हाइड्रोपावरको छ । १४ करोडको प्राथमिक शेयर निष्कासनका लागि लक्ष्मी क्यापिटलले काम गरिरहेको छ ।
युनियन हाइड्रोपावरका अनुसार भूमिगत सुरुङ, विद्युत्गृहको सिभिलतर्फ, बाँध क्षेत्र, हेडवर्कलगायतको निर्माण कार्य लगभग सकिसकेको छ । गतवर्षको वैशाखमै सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि भूकम्प तथा नाकाबन्दीका कारण मजदूर र इन्धनको अभाव भएपछि निर्माण कार्य समयमै पूरा हुन नसकेको भनाइ युनियन हाइड्रोपावरको छ । आयोजना निर्माणको क्रममा दैनिक १ हजार ४५ लिटर इन्धन खपत हुने गरेको र नाकाबन्दीको बेला इन्धनको चरम समस्या भएपछि काम हुन सकेको थिएन ।
‘रन अफ दी रिभर’को आधारमा रहेको सो जलविद्युत् आयोजना लमजुङको भोर्लेटारनजिक छ । सानिमा बैङ्क र सनराइज बैङ्कको पनि ऋण सहायता रहेको यो हाइड्रोपावरमा १ सय ९९ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । लमजुङको रामबजारबाट आयोजनास्थलसम्मको सडक पनि हाइड्रोपावरले मर्मतसम्भार गरी स्तरोन्नति गरिसकेको छ । इलेक्ट्रोमेकानिकल उपकरण, टर्वाइन र जेनेरटरको जडान कार्यमा लागिपरेको सो हाइड्रोपावरको प्रसारण लाइन भोर्लेटार सबस्टेशनमा जडान हुने बताइएको छ । ३३ केभीको प्रसारण लाइनका लागि नेपाल इलेक्ट्रिकल एण्ड बिल्डिङ सोलुशन प्रालिले काम गरिरहेको पनि युनियन हाइड्रोपावरले जानकारी दिएको छ । प्रवर्द्धक कम्पनी युनियनले प्राधिकरणसँग विद्युत् जडान सम्झौता (कनेक्शन एग्रिमेण्ट)समेत गरिसकेको छ, जसमा प्राधिकरणले आयोजना निर्माण सम्पन्न हुनुअगावै भोर्लेटारमा सबस्टेशन निर्माण गर्ने सहमति भएको छ ।
युनियन हाइड्रोपावरका अनुसार विद्युत्गृह, सुरुङ, बाँध र पेनस्टक पाइपलगायतको काम एकसाथ अघि बढाई लगभग सबै कार्य सकिसकेको छ । कम्पनीले ३ मेगावाट विद्युत् उत्पादन गर्नेगरी पश्चिम लमजुङको करापु र नाल्मा गाउँको सिमानामा यो आयोजना निर्माण गरेको हो । यतिबेला आयोजनामा हाइड्रोमेकानिकलअन्तर्गतका हेडरेस पाइप, पेनस्टक, गेटलगायतकोे काम पनि ९० प्रतिशत सकिसकेको कार्यकारी सचिव शाहले बताइन् ।
आयोजनाको शुरूको लागत ५४ करोड रहे पनि समय र लागत दुवै बढेकाले लागत बढ्ने ठम्याइ आयोजनाको छ । आयोजनाको प्रवद्र्धक कम्पनी युनियन हाइड्रोपावर र नेपाल विद्युत्् प्राधिकरणबीच २०६७ माघ ४ गते विद्युत् खरीदविक्री सम्झौता (पीपीए) भएको थियो । पानीको बहावमा आधारित स्वदेशी लगानीको यो आयोजना र नेपाल विद्युत्् प्राधिकरणबीच सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको हो ।
साविकको करापु र नाल्मा गाविसको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध बाँधी १ हजार १ सय २१ दशमलव २४ मिटर लामो भूमिगत सुरुङ ३ सय ४३ दशमलव ५ मिटर पेनस्टक पाइप र १ सय ५५ दशमलव ६ मिटर लामो कल्भर्टमार्फत ल्याइएको पानी आयोजनाको विद्युत्गृह रहने स्थान करापु–९ पत्तरीमा पुर्याई विद्युत् उत्पादन गरिने जानकारी पनि कार्यकारी सचिव शाहले दिइन् ।
आयोजनाका मुख्य प्रभावित क्षेत्र नेटा, करापु, नाल्मा, ईशानेश्वर, भोर्लेटार, बाङ्ग्रे र सिन्दुरेलगायत बासिन्दालाई १० प्रतिशत शेयर दिएको बताइएको छ । कम्पनकी सचिव शाहका अनुसार युनियनले ताप्लेजुङको मेवाखोला र सोलुखुम्बुको होङ्गु खोलामा विद्युत् उत्पादन गर्ने लाइसेन्स लिइसकेको छ । मेवा खोलामा १५ दशमलव ७३ मेगावाट र होङ्गुमा २१ दशमलव ७८ मेगावाट विद्युत् उत्पादन हुनेछ । ९० मेगावाट उत्पादन हुने ताप्लेजुङको माथिल्लो तमोर ‘ए’को लाइसेन्स आउने क्रममा रहेको सचिव शाहले बताइन् ।