logo
मन्त्री चौधरीले भने - यो वर्ष मेलम्चीमा क्षति हुँदैन, राजधानीवासीले पानी उपभोग गर्न पाउँछन् 
मन्त्री चौधरीले भने - यो वर्ष मेलम्चीमा क्षति हुँदैन, राजधानीवासीले पानी उपभोग गर्न पाउँछन् 
१२ जेठ २०७९

जेठ १२, सिन्धुपाल्चोक । नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले यो वर्ष मेलम्ची खानेपानी आयोजनामा कुनै क्षति नपुग्ने गरी तयारी गरिएको बताएका छन् । 

वर्षायाम शुरु हुने संकेत देखिएसँगै मन्त्री चौधरीले बिहीवार सिन्धुपाल्चोकको हेलम्बु स्थित मेलम्ची खानेपानीको मूख्य प्रवेशद्वार अम्बाथानको निरीक्षण गरे । निरीक्षणपछि प्रतिक्रिया दिँदै चौधरीले विगतमा झैं खानेपानीको संरचनामा क्षति नहोस् भनेर जल तथा मौसम पूर्वानुमान महाशाखा, विज्ञको सल्लाहमा काम भइरहेको बताए । 

‘यो वर्ष अघिल्लो वर्षजस्तै आजोजनामा क्षति नपुगोस् भनेर हामी गम्भीर छौं, यस विषयमा विज्ञहरुको टोलीसँग परामर्श भईरहेको छ’, उनले भने- ‘वर्खाको समयमा पनि काठमाडौंबासीलाई पानी उपभोग गर्ने वातावरण बनाउँदै छौं ।’ तर निरन्तर पानी परिरहे केहि दिनको लागि सुरुङ बन्द गरिने उनले बताए ।

यसका लागि मौसम पूर्वानुमान महाशाखा, विज्ञ, कर्मचारीको सल्लाहअनुसार जुनसुकै बेला मेलम्चीको सुरुङको पानी खोलामै पठाई गेट बन्द गरिने उनको भनाइ छ । गेट नम्बर ९, १८, ३९ र अम्बाथान मुख्य अडिटमा हाइड्रोलिक गेट हालिने उनको भनाइ छ । हाइड्रोलिक गेट भारतबाट केही दिनमै नेपाल आइपुग्ने उनले जानकारी दिए । 
बाढी पहिरोले क्षति नगरोस् भनेर अम्बाथान अडिट अगाडि तार ग्याबिन वाल लगाइने उनको भनाइ थियो ।

पानी पथान्तरण गर्ने गेट छेउको पहिरो नियन्त्रण गर्न र त्यसमाथि जोखिममा रहेका चार घर स्थानीय सरकारसँगको समन्वयमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई मन्त्री चौधरीले निर्देशन समेत दिए । उनले पानीको बहाव हेरेर तत्काल सुरुङको गेट बन्द गरी पानी खोलामा फर्काउन निर्देशन दिँदै अहिले सुरक्षा गरेर बचाउन सके बखापछि निर्वाध मेलम्चीको पानी फेरि काठमाडौं लैजान सकिने बताए ।

मन्त्री चौधरीले मेलम्चीका ठेकदार र कन्ट्याकटरको भुक्तानीलगायत जायज माग पूरा गर्न तयार रहेको बताउँदै सामाजिक उत्थानको बजेटबारे केहि दिनमै निर्णय हुने जानकारी दिए । 

मेलम्चीको विकल्पमा वाग्मती नदीबाट दैनिक पाँच करोड लिटर पानी थप गर्न बोलपत्र आह्वान भइसकेको र त्यस्तै पाँच करोड लिटर भूमिगत पानीको व्यवस्था गरी राजधानीवासीलाई अभाव हुन नदिने सरकारको योजना रहेको उनले बताए । 

गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गर्ने योजना आयोजनाको छ । 

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार मुहान क्षेत्रमा पर्ने हेलम्बुको नाकुतेमा बाढीको तह जाँच गर्ने प्रविधि जडान गरिएको छ । सो संयन्त्रले नदीमा पानीको सतह नाप गरेर खतराको तह पार गरेको सूचना दिन्छ ।

जसरी भएपनि सुरुङलाई सुरक्षित राखिने पन्तले बताए । ‘सुरुङमार्गमा बाढीले असर पर्न दिदैनौं,’ उनले भने ‘त्यसको लागि के–के गर्नुपर्छ त्यो गर्छौ ।’ तत्काल पानी लैजाने योजना नरोक्ने जनाउँदै उनले नियमित वर्षा हुन थालेपछि जल तथा मौसम विज्ञान विभागको परामर्शमा पानी सुरुङको ढोका बन्द गरिने बताए । वर्षामा सुरुङ बन्द राखियो भने वर्षमा कम्तिमा ८ महीना पानी खुवाउन सकिने आयोजनाको भनाइ छ । 

आयोजनाका अनुसार अहिले एशियाली विकास बैंकले मेलम्चीको माथिल्लो तटीय क्षत्रे र मुहानस्थलको अवस्थाबारे अध्ययन गरिरहेको छ । एडीबीको प्रतिवेदनअनुसार नै आयोजनालाई सुरक्षित राख्ने गरी स्थायी निर्माणको काम शुरु हुनेछ । 

माथिल्लो तटीय क्षेत्रमा बाढी आएको अवस्थामा सुरुङ बन्द गर्नुपर्ने आयोजनाका प्राविधिकहरु बताउँछन् । मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम रहेको भन्दै उनीहरुले लेदोसहितको बाढीको जोखिम टरी नसकेको बताए ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.