काठमाडौं । नेपाल आयल निगम लिमिटेडले असार २७ गते विशेष साधारणसभा बोलाएको छ । असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष, सिंहदरबार, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारितका लागि मात्र सभा गर्न लागेको हो ।
कम्पनी ऐन २०६३ को दफा २१ बमोजिम प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने प्रस्ताव सभाका लागि तय भएको हो । धितोपत्र दोस्रो बजारमा सूचीकृत यो कम्पनीको शेयर कारोबार भने हुने गरेको छैन । दोस्रो बजारमा कम्पनीको ७ लाख २९ हजार ६४१ कित्ता शेयर सूचीकृत रहेको छ । गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक साधारणसभा गत चैत २९ गते सम्पन्न गरेको कम्पनीले यस वर्ष शेयरधनीहरूका लागि १० प्रतिशत करसमेत नगद लाभांश वितरण गरिसकेको छ । उक्त सभाबाट पनि कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गरेको थियो । फेरि पनि कम्पनीले सोही प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको हो ।