काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले जेठ मसान्तसम्म ९ करोड २६ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । वैशाख मसान्तसम्म ७ करोड ८० लाख रुपैयाँभन्दा बढी नाफामा रहेको योजनाले पछिल्लो महिना १ करोड ४५ लाख रुपैयाँभन्दा बढी नाफा गरेको हो । जेठमा योजनाले ११ करोड ४७ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दा २ करोड २१ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । वैशाखमा भने ९ करोड ७६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले १ करोड ९५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको थियो ।
खुलामुखी प्रकृतिको यस योजनाको जेठ मसान्तसम्म १५ करोड २४ लाख ८३ हजार ८१० इकाई कायम भएको छ । वैशाख मसान्तसम्म योजनाको कुल इकाई १४ करोड २८ लाख ९ हजार २९२ रहेको थियो । प्रति इकाई खुद मूल्य भने वैशाख मसान्तसम्म १० रुपैयाँ ७६ पैसा रहेकोमा जेठ मसान्तसम्म १० रुपैयाँ ८६ पैसा कायम भएको छ ।
जेठसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने १ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी देखिन्छ ।