काठमाडौं । नेपाल राष्ट्र बैंकको कडाइसँगै बैंक, वित्तीय संस्थाबाट ओभरड्राफ्ट तथा चालू पूँजी शीर्षकमा कर्जा प्रवाह घट्न थालेको छ । तर, राष्ट्र बैंकले लचिलो नीति लिँदा नगद प्रवाहमा आधारित (क्यास क्रेडिट), आवधिक कर्जाका साथै व्यक्तिगत घरजग्गा तथा शेयर धितो शीर्षकमा कर्जा बढ्न थालेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को फागुनसम्ममा बैंकहरूको सबैभन्दा बढी ओभरड्राफ्ट कर्जा ४३ प्रतिशतले घटेको छ । गत आवमा पनि यो कर्जा ६७ दशमलव ७ प्रतिशतले घटेको थियो । यस्तै राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयन गरे पनि चालू पूँजी शीर्षकमा पनि बैंकहरूको कर्जा प्रवाहमा कमी आएको छ । ऋणीले जुन प्रयोजनको लागि लिएको हो त्यही प्रयोजनमा मात्र खर्च गरून् भनेर यो मार्गदर्शन ल्याइएको थियो ।
गत आवमा १३ दशमलव २ प्रतिशत घटेको यो कर्जा चालू आवको फागुनसम्ममा १० दशमलव ४ प्रतिशतले कमी आएको छ । फागुनसम्म बैंकहरूको चालू पूँजी शीर्षकको कर्जा ७ खर्ब ८८ अर्ब रुपैयाँमा झरेको छ ।
राष्ट्र बैंकले २०७९ कात्तिक १ कात्तिकदेखि चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयन गरेको हो । मार्गदर्शनमा व्यापारिक फर्म तथा कम्पनीको वार्षिक कारोबार आधारमा मात्रै चालू पूँजी कर्जा दिनुपर्ने व्यवस्था गर्दै सीमा निर्धारण गरिएको छ । उद्योगी व्यापारीहरूले उक्त मागदर्शन खारेज गर्न माग गर्दै आन्दोलन गरे पनि राष्ट्र बैंकले फिर्ता लिएको छैन ।
चालू पूँजी कर्जा मार्गदर्शन जारीसँगै केन्द्रीय बैंकले बैंकहरूको कर्जा वर्गीकरणको शीर्षकमा समेत परिवर्तन गरी चालू सम्पत्ति धितो दृष्टिबन्धक वा धरौटी बन्धक राखी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नवीकरणयोग्य कर्जाको बक्यौता रकम क्यास क्रेडिट कर्जा शीर्षकमा राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तै प्राकृतिक व्यक्तिलाई प्रदान गर्ने ओभरड्राफ्ट कर्जालाई मात्र ओभरड्राफ्टमा र त्यसबाहेक व्यापारिक संस्थालाई दिएको कर्जा क्यास क्रेडिट तथा चालू पूँजी कर्जा शीर्षकमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।
वर्गीकरणको प्रावधान परिवर्तनपछि क्यास क्रेडिट शीर्षकमा बैंकहरूको कर्जा बढ्दै गएको छ । चालू आवको फागुनसम्म यस शीर्षकमा बैंकहरूले प्रवाह गरेको कर्जा २४ दशमलव ६ प्रतिशतले बढेर ६ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यस्तै आवधिक कर्जा पनि १५ दशमलव ९ प्रतिशतले वृद्धि भई १८ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।
यसैगरी चालू आवमा बैंकहरूले सवारीसाधन खरीदका लागि दिने हायर पर्चेज कर्जामा पनि उच्च गिरावट देखिएको छ । गत आवसम्ममा १ खर्ब ५९ अर्ब यस शीर्षकमा लगानी भएकोमा चालू आवमा २० दशमलव ७ प्रतिशतले घटेर १ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ ।
राष्ट्र बैंकको सहजीकरणसँैगै शेयर धितो कर्जा भने बढ्न थालेको छ । चालू आवको फागुनसम्म बैंकहरूले ८५ अर्ब ७० करोड रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेका छन् । असारसम्ममा ७६ अर्ब ३० करोड कर्जा प्रवाह भएकोमा यस वर्ष १२ दशमलव ३ प्रतिशतले बढेको हो ।
शेयर धितो कर्जामा नियन्त्रण गर्न राष्ट्र बैंकले सीमा तोक्नुका साथै यस कर्जामा जोखिम भारित अनुपात पनि बढाएको थियो । पछिल्लो समयमा कर्जाको सीमा बढाउनुका साथै जोखिम भारित अनुपात कम गरे पनि यस क्षेत्रमा लगानी बढेको हो ।
यस्तै केन्द्रीय बैंकले सीमा बढाएपछि चालू आवमा आवासीय घरकर्जा पनि वृद्धि भएको छ । चालू आवको फागुनसम्ममा २ करोडसम्मको व्यक्तिगत घरकर्जा १० दशमलव ४ प्रतिशतले बढेर ३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । तर, रियल इस्टेट कर्जा भने शून्य दशमलव ५ प्रतिशतले मात्र घटेको छ । पूर्वबैंकर भुवन दाहालले केन्द्रीय बैंकको नीतिगत परिवर्तनसँगै बैंक, वित्तीय संस्थाका लगानीका क्षेत्रहरू परिवर्तन भएको बताए । ‘चालू पूँजी मार्गदर्शनपछि कर्जाका क्षेत्रगत वर्गीकरण परिवर्तन भयो,’ उनले भने । ‘कुनै क्षेत्रमा कडा र कुनै क्षेत्रमा लचिलो नीति अपनाएका कारण त्यसअनुरूप कर्जा घटबढ भएको देखिन्छ ।’